राजनीति

निषेधित क्षेत्र फिर्ता लिन नेविसंघको माग, सिडिओसामु आन्दोलनको चेतावनी

काठमाडौं– नेपाल विद्यार्थी संघले काठमाडौं जिल्लाको निषेधित क्षेत्र हटाउन माग गरेको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो। वैशाख १६ गतेदेखि लागु हुनेगरी अन्य स्थानमा कार्यक्रम नगर्न भनेपछि मंगलबार महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा प्रशासन कार्यालय पुगेको नेविसंघको टोलीले प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाउँदै निषेधित क्षेत्र फिर्ता लिन माग गरेको हो।  

प्रशासन कार्यालयद्वारा घोषित निषेधाज्ञा संविधानमा व्यवस्था गरिएको अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता सम्बन्धी हककाविरुद्ध रहेको नेविसंघको ठहर छ। संघले निषेधित क्षेत्र घोषणा गर्ने कदमलाई कम्युनिष्ट गठबन्धन सरकारको घोर स्वेच्छाचारी चरित्र भनेको छ।

निषेक्षित क्षेत्र घोषणा गर्ने निर्णय तत्काल फिर्ता लिई जनताको स्वतन्त्रता पूर्वक विचार अभिव्यक्त गर्न पाउने र स्वतन्त्रपूर्वक भेला हुने अधिकारको ग्यारेन्टी गर्न संघले माग समेत गरेको छ। ‘अन्यथा नेविसंघ सरकारको यो कदमविरुद्ध वैशाख १६ गतेदेखि नै सशक्त आन्दोलन सञ्चालन गर्ने घोषणा गर्दछ’, महामन्त्री काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्नु भन्ने गृहमन्त्रालयको निर्देशनअनुसार जिल्ला सुरक्षा समितिको बैठकमार्फत जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो।

प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि लागु हुनेगरी तोकेको सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलमा खुलामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर, भुईंखेल चौर भागवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौरस्थित समाजकल्याण परिषद अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला रहेका छन्।  

प्रकाशित: ४ वैशाख २०७५ १०:३७ मंगलबार

निषेधित क्षेत्र लिन नेविसंघको माग सिडिओसामु आन्दोलनको चेतावनी