राजनीति

‘भीम रावललाई नभेट्न उर्दी !’

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल अहिले गृह जिल्ला अछाममा छन्। मातृभूमि जागरण अभियान, नेपालका नामले सङ्गठन निर्माणको दौडधुपमा रहेका रावल गृह जिल्लाबासीसँग भेटघाट गर्दै आफ्ना कुरा राखिरहेका छन्। 

तर, एमालेका जिल्ला स्तरीय पदाधिकारी र नेता कार्यकर्ता भने रावलका पक्षमा खुलेका छैनन्। एमालेले आफ्ना सदस्यलाई रावलसँग भेट्न पनि बन्देज गरेका खबरहरू आइरहेका छन् । 

यस्तोमा रावलको सचिवालयले रावललाई नभेट्न, उनका कार्यक्रममा नजान एमालेबाट उर्दी नै जारी भएको दाबी गरेको छ ।

‘भीम रावल कहीँ कतै कार्यक्रममा जाने थाहा पाउने बित्तिकै उहाँलाई नभेट्न र कार्यक्रममा नजान उर्दी जारी गरिएको छ,’ रावलको सचिवालय भन्छ,‘२०४६ सालतिर बहुदलवादीका कार्यक्रम बिथोल्न पञ्चहरू प्रतिरोध जुलुस निकाल्दै हिँडेजस्तो अवस्था देखिएको छ।’ प्रतिकार र प्रतिरोध जुलुसहरूले पञ्चायत जोगाउन नसकेजस्तो अहिले रावलको अभियान पनि रोक्न नसक्ने रावलको सचिवालयको दाबी छ ।  

प्रकाशित: ११ माघ २०८१ १५:५५ शुक्रबार

#Bhim Rawal #CPN UML