नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफूलाई फसाउन षडयन्त्र गर्न थालेको दाबी गरेका छन्। शुक्रवार दाङको तुलसीपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।
‘अहिले मेरा विरुद्ध अनेक षडयन्त्र गरिँदै छ । तर, केही भेटिनेवाला छैन,’ दाहालले भने, ‘भनिन्छ नि नबिराउनु नडराउनु। नेपाली जनतासँग मिलेर एउटा नयाँ क्रान्ति गर्नेवाला छु । यस कारण सबै आतङ्कित छन्।’
आफ्नो कार्यकालमा केही भए आफू विरुद्ध नै अनुसन्धान गर्न प्रहरीलाई भनेको पनि दाहालले दाबी गरे । उनले भने, ‘सायद नेपाली इतिहासको म नै पहिलो प्रधानमन्त्री हो, जसले मेरो विरुद्ध अनुसन्धान गर्न परे पनि निर्धक्क गर्नुस् भन्ने । मलाई यस्तो अवसर प्राप्त भयो ।’
सरकार आफ्नालाई बचाएर विपक्षीलाई फसाउँदै प्रतिशोध साँध्ने काममा लागेको पनि दाहालले दाबी गरे । ‘तपाईँ हामी सोझा भए फसाउँछन् । त्यसैले हामी चलाख हुनै पर्छ,’ दाहालले भने ।
प्रकाशित: ११ माघ २०८१ १५:३७ शुक्रबार