राजनीति

वीरगञ्ज-काठमाडौं यात्रा गर्दै सुमना, सोधिन्- शिक्षा क्षेत्रलाई दलगत राजनीतिले 'ब्यारेक' बनाएर राख्ने हो ?

पूर्वशिक्षामन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले वीरगञ्जदेखि काठमाडौंसम्मको यात्रा गर्ने भएकी छन्।

उक्त यात्रा जनप्रतिनिधिको रूपमा गरिएको पहल भएको श्रेष्ठले बताएकी छन्। यात्राका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, युवा र मिडियासँग संवाद गर्ने उनले उल्लेख गरेकी छन्।

उनले यात्राका क्रममा विभिन्न प्रश्नहरूको जवाफ खोज्ने बताएकी छन्।

'दलहरूको स्वार्थको लागि विद्यार्थीहरूले आफ्नो सपना गुमाउनुपर्ने हो ? नेताका निहित स्वार्थमा कहिलेसम्म हाम्रो बालबालिकाले आफ्नो अधिकार त्याग्नुपर्ने हो ? कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने हो ? केही सय कार्यकर्ताको लागि लाखौँ विद्यार्थीहरूले कहिलेसम्म त्याग गर्नुपर्ने हो ? लाखौँ अभिभावकहरूको लगानी र भविष्यको आशामाथि कुठाराघात कहिलेसम्म ? भ्रष्टाचारको अखडा बनेको शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप मुक्त कहिले बनाउने हो ? होइन, कति पुस्ताले गुमाउनु पर्ने हो ? के यो देश कहिले पनि नबनाउने हो ?,' उनले सोधेकी छन्।

यी प्रश्नहरूको जवाफ खोज्न आफूले वीरगञ्जदेखि काठमाडौंसम्मको यात्रा गर्ने उनले जनाएकी छन्।

प्रकाशित: ११ माघ २०८१ ०९:४९ शुक्रबार

#Sumana Shrestha