राजनीति

गजेन्द्र बाबु: मधेस राजनीतिका आधारशिला र समभावका प्रवर्तक

गजेन्द्रनारायण सिंह, नेपाली राजनीतिमा ‘गजेन्द्र बाबु’ को नामले परिचित मधेसका अग्ला नेता थिए।

उनी सधैं निष्ठावान र स्पष्ट दृष्टिकोणका साथ राजनीतिमा सक्रिय रहे। संघीयता, समभाव र समानताको आन्दोलनका प्रणेता मानिने गजेन्द्र बाबु मधेस राजनीतिलाई मूलधारमा ल्याउन सफल नेता हुन्। आज उनको निधन भएको २१ वर्ष पूरा भएको छ।

गजेन्द्रनारायण सिंहले मधेसका आर्थिक, सामाजिक र राजनीतिक मुद्दालाई निरन्तर उठान गरिरहे। उनले कहिल्यै द्वेष, घृणा र विखण्डनको राजनीतिमा विश्वास गरेनन्। उनले सत्याग्रहलाई आफ्नो संघर्षको प्रमुख हतियार बनाए। स्वर्गीय नेता प्रदीप गिरीले उनको विचारलाई उद्धृत गर्दै भनेका थिए, ‘यो देश हाम्रो हो तर राज्य होइन।’

नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहले अभिवादन मन्त्र ‘जय मातृभूमि’ को सुरुवात गरेका थिए। यो मन्त्र उनको मातृभूमिप्रतिको अमिट प्रेम र प्रतिबद्धताको प्रतीक हो। राजनीतिक सहयात्रीहरूले उल्लेख गरेअनुसार उनले सधैं आफू जन्मिएको माटोलाई सम्मान गरिनैरहे।

गजेन्द्र बाबुले मधेसका पछाडि पारिएका वर्गहरूको उत्थानका लागि निरन्तर संघर्ष गरे। उनले पहाड र हिमालका पछाडि पारिएका वर्गहरूसँग पनि सहकार्य गर्दै समावेशी राज्य प्रणालीको अवधारणा अघि सारे। मधेस आन्दोलनलाई स्थापित गर्न उनले कठिन परिस्थितिमा पनि सत्याग्रहलाई आधार बनाए।

२०३९ सालमा नेपाली कांग्रेस छाडेर उनले २०४० मा नेपाल सद्भावना परिषद् गठन गरे। २०४८ को निर्वाचनमा सद्भावना पार्टीले ७ सिट जित्दै राष्ट्रिय पार्टीको रूपमा संसद्मा प्रवेश गर्‍यो। यो प्रवेशसँगै धोतीकुर्ता र हिन्दी भाषालाई पनि संसद् र सदनमा स्थान दिलाउन सफल भए।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा मधेस केन्द्रित विभिन्न दलका शीर्ष नेताहरूले गजेन्द्रनारायण सिंहको योगदानलाई स्मरण गरे। कार्यक्रमका वक्ताहरूले मधेस आन्दोलनका लागि गजेन्द्र बाबुले देखाएको मार्गअनुसार सहकार्यलाई अघि बढाउन जोड दिए।

सप्तरी जिल्लाको कोइलाडीमा १९२५ मा जन्मिएका सिंहले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा हासिल गरे। उच्च शिक्षाका लागि बनारस गएका उनले त्यहाँ महात्मा गान्धीको स्वतन्त्रता आन्दोलनबाट प्रेरित हुँदै राजनीतिमा होमिने निर्णय गरे।

उनले राणा शासनविरुद्ध सन् १९४७ मा नेपाल राष्ट्रिय कांग्रेसमार्फत संघर्ष सुरु गरे। सत्याग्रह आन्दोलनका क्रममा जेल परेका उनी सन् १९५० देखि ६० सम्म नेपाली कांग्रेसको जिल्ला अध्यक्ष र त्यसपछि केन्द्रीय सदस्य रहे।

गजेन्द्रनारायण सिंहको राजनीतिक जीवनले मधेस मात्र होइन, सम्पूर्ण नेपालका लागि समभाव र समानताको आधारशिला बसाल्यो। सत्याग्रहको मार्गप्रति अडिग रहेर उनले समाजका विभेदकारी नीतिहरूविरुद्ध आवाज उठाए। आज, उनको निधनपश्चात् पनि उनका विचार र सिद्धान्तहरू मधेस राजनीतिका मार्गदर्शक बनेका छन्।

उनको पुण्यतिथिमा नेताहरूले सहकार्य र समभावलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। जानकारहरूका अनुसार मधेसका मुद्दाहरूलाई अघि बढाउनका लागि गजेन्द्र बाबुको विचारलाई आत्मसात् गर्नु नै उनको प्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

प्रकाशित: १० माघ २०८१ २०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App