राजनीति

‘मदिराको मात’मा रास्वपा नेताबारे निजी कुरा, संसदीय समितिमा हङ्गामा

संसद्लाई जनताका मुद्दाबारे छलफल गर्ने र आवश्यक कानुन बनाउने थलो मानिन्छ। कतिपय अवस्थामा जनताका सबै मुद्दा र निर्माणाधीन कानुनबारे संसदमा विस्तृत छलफल सम्भव नहुन सक्छ। यस्तो अवस्थामा संसदमा सम्भव नहुने र संसद् नै नचलेका बेला यस्ता छलफल संसदीय समितिमा गरिन्छन्। यसर्थ संसदीय समितिलाई ‘मिनी संसद्’ पनि मानिन्छ।

संसदीय समितिका बैठकमा पनि संसद् बैठक जस्तै जनताका मुद्दा, निर्माणाधीन कानुन, सरकारका कामकारबाही लगायतका विषयमा छलफल हुन्छन्। यस्ता विषयमा हुने छलफल र बहसमा मतमतान्तर, चर्काचर्की हुनु स्वाभाविक मानिन्छ। यस्ता दृश्य समितिका बैठकमा सधैँ जसो देखिँदै आएका छन् पनि। 

तर, बुधवार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने अलग दृश्य देखियो। जसले संसदीय समितिको अभ्यासलाई नै लज्जित बनाएको छ। बैठकमा सांसदबिच भएका अनौपचारिक कुराकानीका निजी विषयलाई लिएर हङ्गामा भएको छ। 

बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद विनीता कठायत निकै चर्को र आक्रोशित रूपमा देखिइन्। उनी चर्को सुनिदा समितिकी सभापति कुसुमदेवी थापा पनि प्रतिवादमा उत्रिएकी देखिन्छन् । जसको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। 

चर्काचर्कीको मुद्दाको जड के?

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को कार्यक्रमको अनुगमनका लागि पुस २५ देखि २९ गतेसम्म कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली अनुगमन गएको थियो। अनुगमन क्रममा प्युठान, दाङ, बागलुङ र पोखरा पुगेको यो टोलीमा समिति सभापति थापासहितका सांसद, मुख्यमन्त्री र वन मन्त्रीको पनि सहभागिता थियो। 

अन्य सांसदहरूमा राप्रपाकी अनिशा नेपाली, रास्वपाका अशोककुमार चौधरी, माओवादी केन्द्रका रूपा सोसी चौधरी, कांग्रेसका वीरबहादुर बलायर, एमालेकी सरस्वती सुब्बा र एमालेकै सूर्यप्रसाद ढकाल सांसद थिए। संसद् सचिवालयका उपसचिव शिवदत्त बराल पनि टोलीमै थिए। तर, पोखरामा भने रास्वपा सांसद चौधरीले अर्की सांसद कठायतलाई सहभागी हुन पठाए । 

प्रसङ्ग पुस २९ गतेको हो । दिउँसो छलफल भ्याएर साँझको खाना ल्यान्ड मार्क होटेलमा मिलाइएको थियो। त्यही खानाका क्रममा भएको कुराकानीलाई लिएर बुधवार संसदीय समितिमा हङ्गामा भएको हो । 

सांसद कठायतकाअनुसार त्यो दिन सभापति थापा र अन्य सांसदबाट रास्वपा पार्टी र नेताबारे व्यक्तिगत रूपमै टिप्पणी गरेको बताएकी छन्। ‘स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, सोभिता गौतम, रवि लामिछानेले चार वटा बिहे गरे, रास्वपा ठग पार्टी जस्ता आरोप लगाउनुभयो’, सांसद कठायतले थपिन्, ‘स्वयं सभापतिले रक्सी खाएको बेला । केही प्रतिवाद गर्ने कोसिस त गरेँ तर धेरै बहस गरिनँ।’ 

रक्सी खाएको कुरा संसदीय समितिमा नगर्ने नै भन्ने योजनामा आफू रहेको उनले सुनाइन् । ‘उहाँ (सभापति कुसुमदेवी थापा) को त्यहाँ पनि अलि उग्र व्यवहार देखेपछि म आक्रोशित हुन पुगे। हिजो खण्डन गरियो। आउने दिनमा यस्ता काम नगरुन् भनेर एक हिसाबले सचेत गराएको हुँ’, कठायतले भनिन्। 

आफूलाई त्यहाँ दुर्व्यवहार भएको महसुस भएको पनि कठायतले सुनाइन । ‘सबैले रक्सी पिएका छन् । म एक जना मान्छे मात्रै छु । अनि सबैले पेलेको सुहाउँछ त ?,’ उनले भनिन्, ‘फलानो यस्तो, फलानो त्यस्तो, तँ यस्तो, तेरो यस्तो? ठग पार्टी भन्दा मलाई त ह्रयासमेन्ट हो नि।

समितिकी सभापति थापाले भने रास्वपा सांसद कठायतमाथि पोखरामा दुर्व्यवहार भएको कुरा इन्कार गरिन् । ‘अनुगमन सकिएपछि पारिवारिक कुरा हुन्छन्,  राजनीतिक कुरा हुन्छन्, सरकारका कुरा हुन्छन् । हर कुरा हुन्छन् नि,’ उनले भनिन्, ‘त्यस्ता कुरा हुँदा व्यक्तिगत दुर्व्यवहार भयो भनेर हुन्छ?’ 

खाना खाने बेलामा कांग्रेस महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध संसद्मा प्रमाण पेस गरेको कुरा, रास्वपा सांसद सुमना श्रेष्ठको श्रीमान् विदेशी रहेको, शिक्षामन्त्री हुँदा विदेशी नागरिकसँगै मन्त्री क्वार्टरमा बसेको, सांसद सोभिता गौतमले नेपाल सरकार मुर्दावाद भनेको कुरा भएको सभापति थापाले बताइन्। ‘सांसद जस्तो मान्छेले यस्ता कुरालाई दुर्व्यवहार मान्ने हो त?,’ थापाले प्रश्न गरिन्। 

उनले मदिरा सेवन गरेको भन्ने आरोपमा सत्यता नभएको बताइन् । ‘रक्सी खाएको भनिएको कुरा बिलकुल गलत हो। संसदीय समितिमा मैले भनेको पनि छु । प्रमाण ल्याउनु भनेर। संसदीय मर्यादा भन्ने हुन्छ नि’, आक्रोशित हुँदै सभापति थापाले भनिन् । 

यसअघि पनि आफूलाई अन्य दलका सांसदहरूले होच्याउने गरेको उनले बताइन । ‘संसदमा आएको दुई वर्ष मात्रै भएको छ भन्दा दुई वर्षमा तपाईँको पार्टीको हविगत पनि देखि सक्यौ, यस्तो यस्तो होच्याउने कुरा गर्नुहुन्थ्यो पहिले देखिनै। त्यस कारण मैले बोल्नै पर्ने भएर बोले’, कठायतले भनिन्। 

तर, रास्वपा सांसद कठायत भनेर व्यक्तिगत तहमै उत्रिएर रास्वपा नेताविरुद्ध टीकाटिप्पणी गरेको दाबी गर्छिन्। ‘म नै अविवाहित छु। मेरै ब्बाई फ्रेण्डहरू होलान्। भोलि मेरै भाग्यमा डिभोर्सीसँग बिहे हुन्छ कि? मेरो पनि बिहे भएर डिभोर्स हुन्छ कि? यस्तो कुरा गर्नुहुँदैन, गर्दै नगरौँ भन्दा भन्दै पनि यसको मात्रै कुरा गर्न थालियो। म त अचम्म परेँ’, नागरिकसँगको कुराकानीमा सांसद कठायतले भनिन् ‘संसदीय समितिको सभापति जस्तो मान्छे भएर कुरा काटेर बस्नु त राम्रो भएन नि भन्ने हिसाबमा कुरा गर्न खोज्दा ठुलो कुरा गरेपछि समितिमा चर्काचर्की भएको हो।’

सांसद कठायतले आफूलाई व्यक्तिगत रूपमा केही नभनेको पनि बताइन् । ‘किनभने म विवाहित पनि होइन। उहाँले विवाहको कुरामा मात्रै पिन्च गर्न खोज्नु भएको थियो। मलाई व्यक्तिगत रूपमा भन्ने भनेको घण्टी मात्रै हो। त्यसमालाई मैले हल्का रूपमा मात्रै लिने गरेको थिएँ,’ उनले भनिन् । 

यसअघि पनि आफूलाई अन्य दलका सांसदहरूले होच्याउने गरेको उनले बताइन । ‘संसदमा आएको दुई वर्ष मात्रै भएको छ भन्दा दुई वर्षमा तपाईँको पार्टीको हविगत पनि देखि सक्यौ, यस्तो यस्तो होच्याउने कुरा गर्नुहुन्थ्यो पहिले देखिनै। त्यस कारण मैले बोल्नै पर्ने भएर बोले’, कठायतले भनिन्। 

सांसद कठायत आफ्नो पारिवारिक पृष्ठभूमि कांगेससँगै जोडिएकाले समितिका सभापतिसँग मिलेर काम गर्न सुझाव रहेको पनि बताउँछिन्। आफ्ना बुबा जुम्ला कांग्रेसका जिल्ला सचिव रहेको बताउँदै उनले भनिन्, ‘सभापतिसँग मिल्नु, यस्तो गर्नुहुँदैन भन्ने कुरा आएको थियो। तर व्यावसायिक कुरा भएकाले समितिमै उठाएकी हुँ।’

बुधवार खाली सचेत गराउन मात्रै आफूले समितिमा कुरा राखेको कठायतले बताइन् । उनले भनिन्, ‘भन्नुपर्ने थियो, यो गलत हो भनेर । भने, सकियो मेरो लागि।’ 

संसदीय समितिमा सांसदका निजी विषय र बाहिर भएका वादविवादका विषय ल्याएर बहस भएको सम्भवतः यो पहिलो पटक हो । यस्ता जग हँसाउने विषयले संसदीय गरिमालाई समेत चोट पुर्‍याउने जानकारहरू बताउँछन्।

प्रकाशित: १० माघ २०८१ १९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App