राजनीति

ओली सरकार अवैध छ: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने दोहोर्‍याएका छन्।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान र जनताको भावना विपरीत गठन भएकाले यो सरकार धेरै टिक्ने सम्भावना नरहेको दाबी गरे।

‘यो अवैध र अप्राकृतिकता ढंगले जन्मिएको सरकार हो। यो सरकार धेरै दिन टिक्ने वाला पनि छैन। यो सरकार लोकतन्त्र र संविधान विपरीत छ। र जनताको भावना विपरीत पनि छ। तर हाम्रो अहिलेको रुचि सरकार भने होइन।’ उनले भने।

अध्यक्ष दाहालले सरकारका गतिविधि आलोचनात्मक ढंगले टिप्पणी गर्दै जनताका पक्षमा काम गर्नुपर्ने सरकार उल्टै राम्रो संस्था र व्यक्तिमाथि आक्रमण गर्न तल्लीन रहेको आरोप लगाए। ‘सरकारको जन्म नै गलत प्रक्रियाबाट भएको छ,’ उनलेले थपे, ‘यही कारणले पनि यसको अस्तित्व धेरै लामो रहने छैन।’

दाहालले आफू र आफ्नो पार्टीलाई अहिले सरकारमा जाने कुनै इच्छा वा हतारो नरहेको स्पष्ट पारे। साथै, वर्तमान सरकारले सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजेकोप्रति पनि उनले कडा आपत्ति जनाए।

उनले भने, ‘ओलीजीले अध्यादेशबाटै शासन गर्न खोज्नुभयो। विपक्षी दलले संसद् अधिवेशन तत्काल बोलाउन दबाब दिएपछि मात्रै सरकारले १८ गते संसद् बैठक बोलाउन बाध्य भएको हो।’

यसअघि भरतपुर विमानस्थलमा कांग्रेसका नेताहरूसँगै पनि दाहालले सरकार लामो समय नचल्ने बताइसकेका थिए।

प्रकाशित: १० माघ २०८१ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App