राजनीति

सुर्खेत पुगेर दाहालले भने : सरकार लामाे समय टिक्दैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहालले वर्तमान सरकार लामाे समय नटिक्ने बताएका छन्। बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले अवैध र अप्राकृतिक ढंगले सरकार जन्मेकाले यसकाे अन्त्य पनि चाँडै हुने बताएका हुन्।

`लाेकतान्त्र, वर्तमान संविधान र जनताकाे भावनाविपरीत सरकार बनेकाे छ,´ उनले भने, `याे लामाे समय जाँदैन।´ उनले सरकारविरुद्ध प्रतिपक्षी दलहरू मात्रै नभएर सत्तामा रहेका दलहरू नै विराेधमा उत्रिएकाे भनाइ राखे। `कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा बाेलिरहेका छन्, एमालेभित्र निकै उकुसमुकुस छ,´ उनले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खाेजेकाे आराेप लगाए। `अहिलेकाे सरकार अध्यादेशबाट शासन गर्ने प्रयत्न गरिराखेकाे छ,´ उनले भने, `यसकाे सशक्त प्रतिकार गरेपछि सरकार बाध्य भएर १८ गतेका लागि संसद् आव्हान गर्न बाध्य भएकाे हाे।´  

उनले अहिलेकाे सरकारले भष्टाचारीलाई बचाउने, राम्रो काम गरेका संरचना र कर्मचारीहरूलाई दुःख दिने काम गरिरहेकाे आराेप पनि लगाएका छन्।

प्रकाशित: १० माघ २०८१ १०:०४ बिहीबार

#Pushpa Kamal Dahal #Political Affairs