राजनीति

सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौं: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमै अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालका कानूनमा समावेश गरिने घोषणा गरेका छन्।

बुधबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आयोजित २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बोल्दै उनले लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाउँदै आएको यो मागलाई सम्बोधन गर्दै प्रावधानलाई कानूनमा समेट्न आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।

गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरता मार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्न म कटिबद्ध छु। केही दिनभित्रै सशस्त्र प्रहरी बल नेपालको कानूनलाई विधेयकका रूपमा संसदमा दर्ता गर्ने तयारी पूरा भइसकेको छ।’

उनले सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर कानून निर्माण गरिएको बताए। गृहमन्त्री लेखकले सशस्त्र प्रहरी जवानहरूको १६ वर्षमै अवकाशको प्रावधानलाई समावेश गर्न पाउँदा आफू खुशी रहेको बताउँदै सशस्त्र प्रहरी बललाई थप प्रभावकारी बनाउन निरन्तर पहल जारी राखिने उल्लेख गरे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रिय सीमाको सुरक्षा, चोरीपैठारी नियन्त्रण र सीमापार अपराध रोकथाममा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको जानकारी दिए।

महानिरीक्षक अर्यालले हालसम्म नेपालले मर्मत गर्नुपर्ने २,३०८ वटा सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगन सम्पन्न भइसकेको जानकारी गराउँदै सीमावर्ती सुरक्षाका लागि नियमित बैठक र सहकार्य भइरहेको सुनाए।

उनद भने, ‘राज्यको सीमा सुरक्षा बल मात्र होइन, सीमावासी नागरिकको मन जितेर उनीहरूलाई पनि सीमा सुरक्षाको जिम्मेवारीबोध गराउनु आवश्यक छ।’

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानहरूले जागिर मात्र नभई सेवा गर्ने भावनाका साथ काम गरिरहेको र सीमावासीसँग सामञ्जस्यपूर्ण सम्बन्ध स्थापना गर्दै ‘सशस्त्र प्रहरी कार्यक्रम’ सञ्चालन गरिरहेको बताए।

प्रकाशित: ९ माघ २०८१ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App