राजनीति

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ: सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले मंगलबार गरेको कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने दाबी गरे।

विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै उनले अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्ध कांग्रेस आवश्यक रहेकोमा जोड दिए।

अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको माग भएको मन्त्री सिंहको भनाइ थियो। सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस एमालेबीच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे।

‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्। स्थीर सरकार बनोस् भन्ने चनचाहनाअनुरूपनै वर्तमान सरकार बनेको हो,’  मन्त्री सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ। सहमतिअनुसार नै कांग्रेस सभापति ‌शेरबहादुर देउवाको  नेतृत्वमा चुनाव हुन्छ।’

उपप्रधानमन्त्री सिंहले कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए।

सिंहले बुधबार बाग्लुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नुका साथै शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरिक्षण गर्नेछन्।

प्रकाशित: ८ माघ २०८१ २०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App