संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकले मुलुकले ठूलो लाभ लिने विश्वास व्यक्त गरेका छन्।
प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन दशकले नेपाललाई ठूलो लाभ प्राप्त हुने बताएका हुन्।
मन्त्री पाण्डेले भने, 'सन् २०२२ देखि सुरू हुने भनिएको पर्यटक दशक कोभिडका कारण अघि बढ्न सकेन्। सन २०२५–०३५ सम्मका लागि पर्यटन दशकको रूपमा मनाउँदै छौं र अहिले कार्ययोजना बनिरहेको छ ।'
कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै गरेकोमा खुशी व्यक्त गर्दै मन्त्री पाण्डेले यसका लागि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठुलो योगदान रहने उल्लेख गरे । कोशीको यो प्रयासले पर्यटन दशकलाई समेत ठूलो योगदान गर्ने उनको भनाइ थियो ।
मन्त्री पाण्डेले पर्यटन दशक मनाउने काम निकै महत्वकांक्षी रहेको उल्लेख गर्दै पर्यटन दशकले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे। मन्त्री पाण्डेले पर्यटन दशकले विदेशमा रहेकालाई समेत स्वदेशमै लगानी गरौं, यहिँ केही गरौं भन्ने वातावरण सिर्जना हुने बताए । पर्यटन क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको मूल आधार रहेको बताउँदै उनले अथितिदेवो भवः को मुलमन्त्रलाई आत्मसाथ गरि अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित: ८ माघ २०८१ १८:५९ मंगलबार