खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता गरेका छन्।
धरान उपमहानगरपालिकाभित्रको खानेपानी समस्या समाधान गर्न मागसहित मेयर साम्पाङ मंगलबार खानेपानी मन्त्रालय पुगेर मन्त्री यादवसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताको क्रममा टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता आफूले गरेको मन्त्री यादवले बताए।
उनले भने,‘आज धरान उपमहानगरका मेयर हर्क साम्पाङजी धरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै मन्त्रालयमा उपस्थित हुनुभयो। खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरले लिनेछ। मैले धरानवासीप्रति सधैं सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।’
मन्त्री यादवले मेयर साम्पाङलाई खुसीका साथ धरान फर्कन पनि आग्रह गरेको बताए। ‘मेयर हर्क राईजीलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसाथ धरान फर्कन आग्रह गरेँ, जसलाई उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनुभयो,’ उनले भनेका छन्।
प्रकाशित: ८ माघ २०८१ १४:२० मंगलबार