राजनीति

सरकारले कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताको लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंको एक कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढवा दिएकोसमेत आरोप लगाएका छन् ।

महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् । कुलमानको कानुनी तथा संवैधानिक समस्या नभेटेपछि अदालतले पुरानो मुद्दा समय अघिनै पेशी अगाडी तानेकोप्रति आपत्ति जनाउँदै भने,'घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि रु आशंका उब्जियो ।'

गुरुङले विधेयकहरूको अध्यादेश जारी गरेर कानून संशोधन गर्ने विषय गम्भीर विषय भएको भन्दै सरकारको नियतमा नै प्रश्न उठेको बताए ।

उनले भने,'अहिले सरकारले हतारो गरेर जसरी अध्यादेश ल्याइरहेको छ, यो अध्यादेश ल्याउनुका पछाडिको सरकारको नियत प्रष्ट हुन्छ । गिरीबन्धु टी टिस्टेटका सवालमा त्यहाँको जमिन सट्टापट्टा गर्ने र प्लटिङ गरेर बिक्री गर्न खोजेको बहस सदनमा उठिरहेको बेलामा त्यसैलाई आकर्षित हुने गरी जुन भूमिसम्बन्धी अध्यादेश ल्याइएको छ त्यसले झन् शंका पैदा भएको छ ।'

एकातिर स्याल कराउने अर्कोतिर कुखुरा हराउने भनेर गाउँघरमा प्रचलित उखानको स्थिति पैदा भएको छ । त्यसैले यस्तो विधेयकहरूको अध्यादेश जारी गरेर यसरी कानून संशोधन गर्ने विषय गम्भीर विषय हो ।

उनले सर्वोच्च अदालतको आदेश विपरीत सरकारले राष्ट्रिय निकुञ्ज र वन सम्बन्धी कानून संशोधन गर्न खोजेको भन्दै त्यसले मुलुकको विकासको गति कता लैजाने हो भन्दै प्रश्न गरे ।

प्रकाशित: ७ माघ २०८१ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App