नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ । सर्वसम्मतिको प्रयास सफल नभएपछि पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको हो ।
बेलकोटगढी नगर कमिटीको तेस्रो सम्मेलन गत २५ पुसमा सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन ।निर्वाचनबाट गोकर्ण न्यौपाने नगर समितिको अध्यक्षमा निर्वाचित भए ।
कूल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
न्यौपानेविरुद्ध माओवादी पोलिटब्युरो सदस्य एवं सांसद हितबहादुर तामाङ, अर्की सांसद एवं केन्द्रीय सदस्य विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ र बोलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङ खुलेरै लागेका थिए । जिल्ला इन्चार्ज हिरानाथ खतिवडाले भने न्यौपानेलाई सघाए ।
अध्यक्ष न्यौपानेले आफूहरूले लामो समयदेखि माथिबाट तोक्ने विधि तोडेर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा वकालत गर्दै आएकामा यसपटक त्यो प्रयोग भएको बताए । उनले निर्वाचनमा पार्टी सत्ता र राजकीय सत्ताको दुरुपयोग भएको आरोप लगाए । ‘मैले जितेको भन्दा पनि प्रतिस्पर्धाबाट नेतृत्व चुन्नुपर्छ भन्ने मान्यताको जितको रुपमा लिएको छु’, न्यौपानेले भने, ‘भूईं मान्छे भर्सेस पार्टी सत्ता र राजकीय सत्ताजस्तो भयो, रमाइलै लागेको छ ।’
यस्तै उपाध्यक्षहरूमा पनि न्यौपाने प्यानलकै हरि बजगाईं, तेजप्रसाद मुडभरी र मिलन लामा निर्वाचित भए । सचिव, सह–सचिव, कोषाध्यक्ष र ५५ सदस्यीय नगर समिति भने सर्वसम्मत चयन भएको थियो । पदाधिकारी निर्वाचनमा नगर समिति सदस्यहरू मतदाता थिए ।
प्रकाशित: ७ माघ २०८१ १७:१९ सोमबार