कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सहिदहरूको अपमान हुने गरेर अभिव्यक्ति दिएको आरोप पूर्व मुख्यमन्त्री राजकुमार शर्माले लगाएका छन् ।
सोमबार सुरु भएको कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री शर्माले कँडेल हालै रुकुम पश्चिमको भ्रमणमा जाँदा सहिदहरूलाई अपमान हुने गरेर अभिव्यक्ति दिएको आरोप लगाए ।
‘माननीय मुख्यमन्त्रीज्यू रुकुम जाँदा त्यहाँको सहिद पार्कमा पुग्नु भएछ,’ संसद बैठकमा शर्माले भने, ‘उहाँले सहिद पार्कमा उभिएर मरेका मान्छेले जिउँदा मान्छेहरूलाई दुःख दिने भए भन्नु भएछ ।’ माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका शर्माले मुख्यमन्त्री कँडेललाई आकाशबाट खसेर आएको हो वा धर्तीबाट उम्रिएर आएको हो भन्दै प्रश्न पनि गरे ।
‘यदि यो कुरा सत्य हो भने माननीय मुख्यमन्त्रीज्यू आकाशबाट खस्नु भयो वा धर्तीबाट उम्रिनु भयो थाहा छैन,’ उनले प्रश्न गर्दै भने, ‘म यहीँ गणतन्त्रको उपजको रुपमा सांसदको रुपमा कार्यरत छु ।’ उनले इतिहासको अवमूल्यन नगर्न पनि आग्रह गरे । ‘इतिहासमा मा के भयो रु बलिदान भयो, विद्रोह थियो, जनयुद्ध थियो या आतंक थियो, त्यति बेला सरकारमा को थियो,’ उनले भने, ‘किन यति धेरै हेपेर बोलिन्छ, मलाई अच्चम लाग्छ ।’
प्रकाशित: ७ माघ २०८१ १७:०९ सोमबार