राजनीति

विपिन छुटाउन आरजुको प्रयास जारी: बैंककबाट इजिप्टका विदेश मन्त्रीसँग फोन वार्ता

प्यालेस्टाइनी विद्रोही समूह हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको प्रयास चलिरहेको छ । यस क्रममा सोमबार परराष्ट्र मन्त्री देउवाले इजिप्टका विदेश मन्त्री डा. बदर अब्देल–अतिसँग फोन वार्ता गरेकी छन् । 

इजरायल सरकार र हमासबीच युद्ध विराम भएका बेला युद्ध बन्दीहरूलाई रिहा गर्ने क्रम चलिरहेको छ । यस क्रममा विपिनको रिहाइका लागि पहल गरिदिन इजिप्टका विदेश मन्त्रीसँग परराष्ट्र मन्त्री देउवाले फोनमार्फत आग्रह गरेकी छन् । 

उपचारका लागि थाइल्यान्डको बैंककमा रहेकी परराष्ट्र मन्त्री देउवाले त्यहीँबाट फोन गरेर इजिप्टका विदेश मन्त्रीसँग फोन वार्ता गरेको सचिवालयले जनाएको छ । 

फोन वार्तामा मन्त्री देउवाले इजरायल सरकार र हमासबीचको युद्ध विराममा आवश्यक भूमिका खेलेकामा इजिप्टलाई धन्यवाद पनि दिइन् । यस्तै यती ठुलो विषयमा मध्यस्थकर्ताको भूमिका खेलेको इजिप्टले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पनि भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेकी थिइन ।

जवाफमा इजिप्टका विदेश मन्त्री अब्देल अतिले आफू यो विषयमा गम्भीर रहेको बताउँदै इजिप्टका तर्फबाट मध्यस्थकर्ताको भूमिकामा रहेका अधिकारीलाई  विशेष निर्देशन दिने आश्वासन दिए । 

यसअघि पनि परराष्ट्र मन्त्री देउवाले शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।  

प्रकाशित: ७ माघ २०८१ १५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App