राजनीति

सभापतिमा उठ्ने इच्छा: डा. शशांक कोइराला

फाइल।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्।

विराटनगर विमानस्थलमा नागरिकन्यूजसँग कुरा गर्दै उनले सभापतिमा उठ्न आफू इच्छुक भए पनि यसका लागि कार्यकर्ताहरूको सहयोग आवश्यक रहेको स्पष्ट पारे।

उनले भने, ‘आगामी महाधिवेशनमा सभापतिमा उठ्ने मेरो पनि इच्छा छ। तर, मैले मात्रै भनेर हुँदैन, कार्यकर्ताहरूले पनि साथ दिनुपर्छ।’

डा. कोइरालाले सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको भन्दै अरूलाई समर्थन गर्ने प्रश्न असान्दर्भिक भएको बताए। उनले महाधिवेशनको समयबारे आफ्नो धारणा स्पष्ट पार्दै भने, ‘महाधिवेशन आम निर्वाचनलाई प्रभावित नपार्ने गरी दुई वर्षअघि गर्नु राम्रो हुन्छ। नभए निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्छ।’

पछिल्लो महाधिवेशनमा डा. शेखर कोइरालालाई आफूले धोका नदिएको दाबी गर्दै डा. शशांकले पार्टी सञ्चालनमा भिजन, सिद्धान्त, र विचारको आधारमा मात्र समर्थन र असहमति तय हुने बताए।

विराटनगरमा कांग्रेसका नेताहरूबीच एकता देखिएको सन्दर्भमा माला लगाएको घटनालाई लिएर पनि उनले प्रस्टिकरण दिए। ‘माला लगाउँदैमा एकता हुँदैन। विचार र मन एक हुनुपर्छ,’ उनले भने ‘परिवारभन्दा माथि उठेर सोच्नुपर्छ। केवल विपी कोइरालाको छोरा भएकोमा गर्व गरेर मात्रै हुँदैन। पार्टी चलाउने भिजन र सिद्धान्त हुनुपर्छ।’

प्रकाशित: ६ माघ २०८१ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App