राजनीति

हिउँदे अधिवेशनमा बिजनेस अभाव हुँदैन: लिंथेप

नेकपा एमाले कोशी संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले हिउँदे अधिवेशनमा संसद्लाई बिजनेस अभाव नहुने दाबी गरेका छन् ।

सोमबार संसदीय पत्रकारहरूसँग कुराकानी गर्दै लिंथेपले हिउँदे अधिवेशनमा प्रदेशसभामा बिजनेस अभाव नहुने दाबी गरेका हुन् ।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार देखि सुरू हुँदैछ । हिउँदे अधिवेशनमा १० वटा विधेयक प्रदेशसभामा पेश गर्ने सरकारको तयारी रहेको छ । लिंथेपले विगतमा जस्तो हतारमा विधेयकहरू पारित नगर्ने स्पष्ट पारेका छन् । हतारमा विधेयक पारित गरेका कारण धेरै ऐनहरू चाँडो–चाँडो संशोधन गर्नुपरेका कारण प्रदेशसभामा, संसदीय समितिहरूमा र सरोकारवालाहरूसँग पर्याप्त छलफल पछि मात्रै विधेयक पारित गरिने लिंथेपले जानकारी दिए ।

उनले भने,‘प्रदेशसभालाई परिपक्व बनाउँदै लैजानु पर्ने र विगतका अनुभवबाट पनि सिक्नुपर्ने भएकाले विधेयकहरू हतारमा पारित नगरी पर्याप्त छलफल पछि मात्रै पारित गर्ने तयारी गरेका छौँ ।’ लिंथेपले प्रदेशसभाका कामहरूलाई प्रभावकारी बनाउन सञ्चारजगतको खबरदारी पनि आवश्यक रहेकाले संसदीय पत्रकारहरूलाई निरन्तर खबरदारीका लागि आग्रह पनि गरे । 

प्रकाशित: ६ माघ २०८१ १४:४७ आइतबार