नेकपा एमालेको सदस्यता खोसिएपछि पहिलो पटक शनिवार पूर्व उपाध्यक्ष भीम रावल गृह जिल्ला अछाम पुगे। यस पटक रावलको स्वागतमा पूर्ववत् एमालेको चुनाव चिन्ह सूर्य अङ्कित झन्डा कहीँ कतै देखिएन। कोही समर्थक र कार्यकर्ता एमालेको झन्डा बोकेर रावलको स्वागतमा आएको देखिएन। बरु, जो आए उनीहरूको हातमा राष्ट्रिय झन्डा देखियो।
रावल अछाम पुग्दा साँफेबगरमा समर्थकले कोणसभाको कार्यक्रम राखेका थिए। जहाँ राष्ट्रिय झन्डासहित पुगेका समर्थकले धेरै बेर रावलको पक्षमा नारा लगाए। ती नारामा पनि रावल पहिले अछाम पुग्दाजस्तो एमालेको जयजयकार गर्ने कुनै नारा सुनिएनन् । बरु एमाले र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा गुन्जिरहे ।
रावल आफै पनि यस पटक एमाले वा कम्युनिस्ट पार्टीको झन्डा र सन्देश बोकेर अछाम पुगेका थिएनन्। न उनीसँग कुनै खुसी वा आशाको सन्देश थियो। यस कारण उनीसँग भविष्यमा एमालेको टिकटको आशा राख्ने र रावल रिसाउँदा एमालेमा अपेक्षित मौका नपाउने त्रास राख्ने कार्यकर्ता देखिए ।
बरु पार्टीबाट निष्कासित भएर आएका रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’को नाम लिएर त्यसमा जोडिन आग्रह गरिरहेका देखिए।
जसमा रावलका कट्टर समर्थक रहेका केही भिडले साथ दिए। उनीहरूले रावलको मातृभूमि अभियान, भीम रावल जिन्दावादका नारा लगाए । एमाले र ओलीविरुद्ध नाराबाजी गरे ।
त्यसपछि कोणसभालाई सम्बोधन गर्दै रावलले पनि ओलीविरुद्ध नै आक्रोश पोखे । ओलीको निरङ्कुशता, स्वेच्छाचारिता र ताना शाही प्रवृत्तिले आफू एमालेबाट निष्कासित भएको गुनासो पोखे ।
‘ओलीले कसैले आवाज उठायो भने पार्टीबाट हटाइदिन्छु भन्छन् । सत्ताको उन्मादमा यस्तो निरङ्कुश, ताना शाही प्रवृत्तिको मात चढेको व्यक्तिले मलाई पार्टीबाट निष्कासन गरेका छन्,’ रावलले आफ्ना कुरा राख्दै भने, ‘यस्ता ताना शाह बचेको इतिहास छैन। जनताले एक न एक दिन खाल्डोमा हाल्छन्।’
जनताले यस्ता निरङ्कुश प्रवृत्तिको विरुद्ध ओलीका लागि झापा र एमाले महासचिव शङ्कर पोखरेलका लागि दाङमा खाल्डो तयार राखेको रावलले टिप्पणी गरे ।
अब आफू नेपाली मूलधारको राजनीतिका लागि सशक्त वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै गृहजिल्लाबासीलाई साथ दिन आग्रह गरे ।
प्रकाशित: ५ माघ २०८१ १५:२८ शनिबार