कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले महिलाहरूको दायित्व उत्पादनदेखि भान्सासम्म रहेको बताउँदै यसलाई आयआर्जन र व्यवसायसँग जोड्ने नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कृषि जन्य उत्पादन, मूल्य श्रृङ्खला र प्राकृतिक रेशाजन्य स्रोतसाधनहरूको नीतिगत संवाद कार्यक्रममा मन्त्री अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ का नीति तथा बजेटमा महिलाको सहभागिता बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
“महिलाहरू दायित्वपूर्ण भूमिकामा हुनुहुन्छ। उत्पादनदेखि भान्सासम्मको जिम्मेवारी पूरा गर्दै व्यवसाय सञ्चालनमा समेत महिलाहरूले सफलता हासिल गर्नुभएको छ, जसले मलाई निकै खुशी बनाएको छ,” मन्त्री अधिकारीले भने।
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अधिकारीले महिलाहरूको स्वामित्वमा स्थिर सम्पत्ति नहुँदा ऋण प्राप्त गर्न कठिनाइ हुने समस्यालाई सम्बोधन गर्न सहजीकरणका लागि पहल गर्ने बताए। साथै, उनले महिलाहरू आत्मनिर्भरतातर्फ अघि बढ्दै गरेको देख्दा खुशी लागेको सुनाए।
कार्यक्रममा अध्यक्ष ज्ञवालीले महासंघले महिला उद्यमशिलता विकासका लागि स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रियस्तरमा गरिएका प्रयासहरूको चर्चा गरिन्। उनले सन् २०२४ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजित ‘मेड इन नेपाल एक्स्पो २०२४’ को जानकारी दिँदै कृषि र रेशाजन्य वस्तुहरूलाई प्रोत्साहन दिन विभाजन गरिएको दुई चरणबारे जानकारी गराइन्।
“महिला उद्यमशिलता विकासका लागि सरल र सहायक नीति निर्माण गर्नु आवश्यक छ,” अध्यक्ष ज्ञवालीले भनिन्। कृषि क्षेत्रको योगदान घट्दै गएको तथ्यांक प्रस्तुत गर्दै उनले कृषि क्षेत्रलाई पुनः सुदृढ बनाउने उपायको खोजी गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा प्यानलिष्टका रूपमा मौसमी श्रेष्ठ, डा. प्रद्युम्नराज पाण्डे, डा. यमुना घले, र सीता पाण्डे सहभागी थिए। प्राकृतिक रेशाजन्य स्रोतसाधन सम्बन्धी छलफलमा श्याम वदन श्रेष्ठ, नृपल अधिकारी, र भारतीय महिला उद्यमी अक्ष्या श्रीले विचार राखे।
यस कार्यक्रममा महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा करिब ४० महिला उद्यमीहरूको उपस्थिति थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र उद्यमशिलता विकास संस्था नेपालका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता विशेष अतिथिका रूपमा सहभागी थिए।
प्रकाशित: ४ माघ २०८१ २०:५२ शुक्रबार