राजनीति

समाजवादी प्रेस सङ्गठनबाट निष्कासित अध्यक्ष चौतारी प्रवेश

तस्विरः सामाजिक सञ्जाल

नेपाल कम्कयुनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीलाई कारबाही गरिएको सो सङ्गठनले जनाएको छ। 

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा आज (शुक्रबार)बसेको पदाधिकारी र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकले अध्यक्ष सुवेदीले सङ्गठनको हितविपरीत कार्य गरेको भन्दै सङ्गठनबाट निष्कासन गरिएको हो। 

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठनका इन्चार्ज प्रकाश ज्वाला, सहइन्चार्ज दामोदर अर्याल, केन्द्रीय कमिटी सदस्य चमिना भट्टराईको उपस्थितिमा बसेको उक्त बैठकले छिट्टै पदाधिकारीको बैठक बसी केन्द्रीय कमिटीको बैठकको टुङ्गो लगाउने निर्णयसमेत  गरेको उपाध्यक्ष छत्कुलीले जानकारी दिए। 

बैठकमा पार्टी उपाध्यक्ष ज्वालाले सङ्गठनको अनुशासन र हितविपरीत कार्य गर्न कसैलाई पनि छुट नभएको बताउँदै सामाजमा सत्य तथ्य सूचना प्रवाहमा सङ्गठनको भूमिका सकृय बनाउन निर्देशन दिए। सङ्गठनका सहइन्चार्ज अर्यालले सङ्गठनले पत्रकारिता क्षेत्रको आदर्शलाई कायम गर्दै जनअधिकार तथा देश विकासका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिए।

यसैबीच कारबाहीमा परेका सुवेदी नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमबीच समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदीसहित महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारी, सचिव नेपोलियन चेपाङ, संस्थागत उपाध्यक्ष नरेन्द्र साउदलगायत प्रेस चौतारीमा प्रवेश गरेका हुन्। 


 

प्रकाशित: ४ माघ २०८१ २०:०९ शुक्रबार

#NagarikNews