राजनीति

विपद् जोखिम न्यूनीकरणका लागि सरकारले योजनावद्ध काम गर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई  दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन्। 

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले  यस्तो बताएका  हुन्। विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा  अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अघि बढ्ने सन्देशमा उल्लेख छ। 

भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतको जस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि  सबैले सार्थक प्रयत्न र संकल्प गर्नुपर्ने जरुरी रहेको कार्कीको भनाइ छ। मुख्यमन्त्री कार्कीले भने, ‘आजको दिन भविष्यमा आउन सक्ने भूकम्प लगायतका सबै प्रकारका विपद्का कारणले हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई एकढिक्का भएर लागि पर्न आह्वान गर्दछु।’ 

भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै व्यक्ति, सङ्घसंस्था, निकाय, समुदायलगायत सबैमा आपसी सहयोग, भाइचारा र सहकार्यका साथ विपद्को सामना र क्षति न्यूनिकरणका लागि जनचेतना जगाउन प्रभावकारी रुपमा काम गर्नसमेत उनले आग्रह गरेका छन्।

प्रकाशित: २ माघ २०८१ १२:५४ बुधबार

#NagarikNews