राजनीति

दह्रो सरकारले लुला लुला काम होइन, दह्रै काम गर्छ: प्रधानमन्त्री ओली

'अन्टसन्ट बोल्ने मान्छे बाेलिरहन्छन्'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नो स्वार्थका लागि अन्टसन्ट बोलिरहने मान्छे’ भन्दै टिप्पणी गरेका छन्। बुधवार बालुवाटारमा उद्योगी, व्यवसायीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘केही मान्छे मात्र हुँदा रहेछन् आफ्नो स्वार्थका लागि जति बेला पनि अन्टसन्ट बोलिरहने,’ प्रधानमन्त्री ओलीले भने, ‘राम्रो काम गरे पनि उस्तै हो, नराम्रो गरे नि उस्तै हो । बोल्नु छ, विरोध गर्नु छ । आफ्नो पिठो बिकाउनु छ ।’ 

त्यसका लागि अनावश्यक हल्ला गर्दै हिँडेको प्रधानमन्त्री ओलीले बताए । ‘तर आम मान्छेको चाहना विकास हुन्छ, सुशासन हुन्छ ।’ सुशासन र विकासकै लागि अहिले अध्यादेश ल्याइएको पनि ओलीको दाबी छ । उनले भने,  ‘यी प्रयास सुशासनसँग सम्बन्धित छ, विकाससँग सम्बन्धित छ । विकासका लागि आवश्यक नीति र व्यवहारिक कदम चालिएको हो।’ 

अहिले नेपाली कांग्रेस र नेकपा एमालेबिच बनेको सरकार दह्रा र ठुला काम गर्न बनेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे । ‘हामी देशका दुइटा ठुला दल मिलेर, नीति चाहिँ ! दल चाहिँ ठुला ठुला मिल्ने, नीति सरकार ठुलो बनाउने, दरो बनाउने,  दरो सरकार हो नि यो त,’ उनले भने, ‘अनि सरकार चाहिँ दरो बनाएर काम चाहिँ लुला लुला गर्ने भनेर नै हामीले काम पनि दह्रा गर्छौँ, निर्णय पनि दह्रा गर्छौँ । परिवर्तन ल्याउने गरी काम गर्छौँ । ढुक्क भए हुन्छ ।’ 

प्रकाशित: २ माघ २०८१ १२:४२ बुधबार

#KP Sharma Oli #Prachand #pusapakamal Dahal