राजनीति

प्रधानमन्त्रीको दाबी: अध्यादेश सुशासन र विकाससँग सम्बन्धित छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा भर्खरै जारी गरिएका अध्यादेश सुशासन र विकाससँग सम्बन्धित रहेको बताएका छन् । बुधवार बालुवाटारमा उद्योगी, व्यवसायीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘अहिले केही अध्यादेश आएका छन्। पहिलो कुरा यी अध्यादेश कसरी आए ? भन्ने कुरा साथीहरूले बुझ्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा बजार हल्ला छ, कांग्रेस र एमालेका विचार नमिलेर, नीति नमिलेर अब यो सरकार छिट्टै फुट्दैछ, ढल्दै छ, गिरिहाल्न आँट्यो ! यस्ता हल्ला छन् ।’ सरकार चाहिँ आफै बसेर अध्यादेशमा आए जस्ता सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरेर प्रभावकारी कदम चालिरहेको उनले बताए ।

‘यस सन्दर्भमा एमाले कांग्रेसका नेतालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । देश बनाऊ भन्ने भावना सबैमा छ,’ प्रधानमन्त्री ओलीले भने । 

आम मान्छेको चाहना पनि विकास र सुशासन नै रहेको उनले बताए । ‘यी प्रयास पनि सुशासनसँग सम्बन्धित छ, विकाससँग सम्बन्धित छ । विकासका लागि आवश्यक नीति र व्यवहारिक कदम चालिएको हो,’ प्रधानमन्त्री ओलीले भने ।  

प्रकाशित: २ माघ २०८१ ११:५७ बुधबार

#KP Sharma Oli