चौधौं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म भएको गुटगत विभाजनले फाटेका धाँजा मेट्न नेपाली कांग्रेसले सय दिने अभियान सञ्चालन गरेको छ। पुस १६ गते समापन गर्ने जनाउँदै घोषणा गरिएको अभियान केही जिल्लामा पूरा नभएको भन्दै अरू एक महिना समय थप गरिएको छ।
चौधौं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म भएको गुटगत विभाजनले फाटेका धाँजा मेट्न नेपाली कांग्रेसले सय दिने अभियान सञ्चालन गरेको छ। पुस १६ गते समापन गर्ने जनाउँदै घोषणा गरिएको अभियान केही जिल्लामा पूरा नभएको भन्दै अरू एक महिना समय थप गरिएको छ।
पार्टीका विभिन्न निर्देशन र निर्णयसहित सबै जिल्लामा उसले केन्द्रीय प्रतिनिधि खटाएको छ। विगतमा जस्तै कांग्रेस अभियान पार्टीभन्दा गुट र नेता केन्द्रित बन्न पुगेको छ। यसले गर्दा पार्टीभित्र बढ्दै गएको दुरी घटाउने भन्दा कतिपय जिल्लामा गुट विवाद थप पेचिलो बन्न पुगेको छ। जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसारका संरचना गठन भए–नभएको, स्थानीय सरकार र पार्टीबिचको सम्बन्धजस्ता विषयमा छलफल गरी संरचना निर्माणसहित विषयमा सहजीकरण गर्ने जनाइएको थियो। भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने, छलफल गर्नुका साथै अपूरा समितिहरूलाई पूर्णता दिँदै संगठनलाई चलायमान बनाउनेसहितका निर्देशन दिइएको थियो।
त्यसअनुसार काम गर्नुभन्दा पनि सबैजसो नेताहरूले आगामी महाधिवेशन केन्द्रित भएर जिल्लाजिल्ला कार्यक्रम गर्दा कांग्रेसभित्रको गुटगत विवाद अझ पेचिलो बन्न पुगेको हो। गुटले थिलथिलो कांग्रेसमा अपवादबाहेक संरचना पूरा भएकै छैनन् भने केन्द्रीय प्रतिनिधिदेखि नेताहरू गुट संरक्षणमै केन्द्रित भएका छन्। नयाँ र पुरानो पुस्ताबीच दुरी बढाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न नेताहरू नै सक्रिय हुँदा विगतमा कांग्रेसले पटकपटक सञ्चालन गरेका अभियानहरू प्रभावहीन बन्न पुगेका थिए। त्यति मात्र होइन, पार्टीको अभियानसँगै जुधाउने गरेर जिम्मेवार पदाधिकारीले नै विगतमा समानान्तर अभियान सञ्चालन गरेका थिए। जसले गर्दा विगतमा कांग्रेसले विभिन्न नारा र नाम दिएर अभियान सञ्चालन गरे पनि त्यसले लक्ष्य हासिल गर्न असफल भएको थियो।
गुटभन्दा माथि पार्टी र देश हो भन्ने मनन नभएसम्म अभियान अभियानमै सीमित हुने जनाउँदै एक नेताले भने, ‘सय दिने अभियान पनि आन्तरिक किचलो र गुटगत विवादले थिलथिलो कांग्रेसलाई सक्रिय बनाउने होइन अझ गुट जगाउने काममा अभियानलाई उपयोग गर्ने काम भइरहेको छ।’ पार्टीले सञ्चालन गरेको सय दिने अभियानलाई नेताहरूले १५औं महाधिवेशनको तयारीका रूपमा उपयोग गरेको जनाउँदै ती नेताले भने, ‘सबैले आआफ्नो धरातल बुझ्ने र नेता तथा कार्यकर्तासम्म पुग्न मात्र खोजेको देखिन्छ।’
कार्यकर्ताको कुरा सुन्दै साउद
कांग्रेसका नेता एनपी साउद पार्टीका नेता तथा कार्यकर्तासँग साक्षात्कारमा जुटेका छन्। पार्टीले सञ्चालन गरेको अभियानमा नेताले आफ्नो कुरा कार्यकर्तालाई सुनाउने र हिँड्ने गरिरहेका बेला साउदसहितका नेताहरू भने जिल्ला तहका नेता तथा कार्यकर्ताको कुरा सुन्ने अभियानमा जुटेका हुन्। पार्टीलाई बलियो बनाउन, सरकार सञ्चालनमा भइरहेका कमजोरी सुधारका लागि नेता तथा कार्यकर्ता र जनताले के चाहिरहेका छन् भन्न बुझ्ने अभियानमा जुटेका हुन्। साउदका साथै महिला संघकी पूर्वअध्यक्ष डिला संग्रौला, मुस्लिम संघका पूर्वअध्यक्ष अब्दुल सत्तार र गण्डकी प्रदेश सांसद तथा पार्टी केन्द्रीय सदस्य चम्पा खड्कासहितका नेताले बर्दियाबाट अभियान थालेका छन्।
बर्दियामा ३५ प्रतिशत दलित हुँदा पनि पार्टीको केन्द्रीय तहमा पुग्न नसकेको गुनासो गरेका थिए। सबैभन्दा बढी द्वन्द्वपीडित भएको जिल्लाका पीडितको पक्षमा काम हुन नसकेको, सुकुम्बासी समस्या समाधान हुन नसकेको बारेमा पनि त्यहाँ चासो राखेका थिए। गठबन्धन सरकारप्रति जनता आशावादी नभएको र कांग्रेस नेता तथा कार्यकर्ताले सरकारमा भएको अनुभूति जनताले गर्न नसकेको गुनासो गरेका थिए। उनीहरूले पाँच जिल्लामा नेता–कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। हरेक जिल्लामा कार्यकर्ताको सुझावपछि साउद नेतृत्वमा रहेको टोलीले आफ्नो कुरा राख्ने गरेका छन्।
प्रकाशित: १ माघ २०८१ ०६:५८ मंगलबार