राजनीति

मेयरको घरमा लाइन काट्दा ३ घण्टा थुनिए बिद्युत् कर्मचारी

गृहमन्त्री रमेश लेखकसँग रहेका महागढीमाईका नगर प्रमुख उपेन्द्र यादव। (फाइल तस्बिर) <br>

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले विद्युत प्राधिकरणका कर्मचारीहरूलाई तीन घण्टासम्म बन्धक बनाएको आरोप लागेको छ।

नगर प्रमुख यादवको नाममा दर्ता भएको विद्युत बक्यौता रकम असुल्न गर्न उनको घर पुगेका विद्युत वितरण केन्द्र, कलैयाका चार जना कर्मचारीलाई नगर प्रहरी परिचालन गरी अपहरण शैलीमा नियन्त्रणमा लिइएको पीडितहरूले बताएका छन्।

विद्युत प्राधिकरणका कर्मचारी सुनिल राय, हृदेश नारायण महतो, गाडी चालक अमिचन महतो र सन्दीप साह सोनारलाई नगर प्रहरीको मद्दतले बन्धक बनाइएको थियो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई लिखित रूपमा जानकारी गराएपछि प्रहरी परिचालन गरी ती कर्मचारीहरूको उद्धार गरिएको हो।

विद्युत प्राधिकरण, कर्मचारी संघ इकाई समिति, कलैया बाराका अध्यक्ष रञ्जित प्रसाद जैसवालका अनुसार, बक्यौता असुल्न यादवको घरमा गएका कर्मचारीहरूलाई नगरपालिकामा लगेर तीन घण्टासम्म बन्धक राखिएको थियो। बाँकी रहेको रु. ३,६४,९७४ तिर्नुपर्ने रकम असुल्न लाइन काट्न जाँदा यस्तो घटना भएको उनले सुनाए।

विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रका प्रमुख ऋषि कुमार वर्णवालले कर्मचारीलाई बन्धक बनाउनेजस्तो घटनाले प्राधिकरणका कर्मचारीहरूको मनोबल गिराएको बताए।

विद्युत बक्यौता तिर्ने प्रक्रियामा अवरोध पुर्‍याउनुका साथै नगर प्रमुख यादवले फोनमार्फत अशोभनीय भाषा प्रयोग गरेको पनि उनले खुलासा गरे।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घटनाबारे लिखित जानकारी प्राप्त भइसकेको र त्यसबारे छानबिन भइरहेको बताएका छन्। उनले दोषीलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता जनाए।

प्रमुख जिल्ला अधिकारीलाई लिखित ज्ञापन पत्र बुझाउँदै।

नगर प्रमुख यादवले यसअघि नगर प्रहरी परिचालन गरी आफ्नै वडाध्यक्षलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले बिना हेल्मेट नगरपालिकाका कर्मचारीलाई रोकेपछि ट्राफिक प्रहरीको चेकिङ पोस्ट तोडफोड गरेको घटनाहरू सार्वजनिक भएका थिए।

यादवले यस्ता विवादास्पद गतिविधिबाट बच्न नेपाली कांग्रेसका सहमहामन्त्री फारमुल्ला मन्सुरलाई साथमा लिएर, पार्टीका संघीय सरकारका मन्त्रीहरूसँग सम्बन्ध राख्दै प्रहरी प्रशासनलाई प्रभावमा पार्न खोजेको आरोप लागेको छ।

विद्युत प्राधिकरण, कर्मचारी संघ इकाई समितिले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई बन्धक बनाएको घटनाका लागि नगर प्रमुख यादवलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

 जारी विज्ञप्ति ।

बिहान ११ बजे बन्धक बनाइएका कर्मचारीहरूलाई दिउँसो २ बजे छोडिएको थियो। तीन घण्टासम्म कर्मचारीलाई बन्धक बनाउँदा पनि नगर प्रमुख यादवलाई कुनै कारबाही नगरिएको भन्दै प्राधिकरणका कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन्।

यस विषयमा नगर प्रमुख उपेन्द्र यादवसँग सम्पर्क गर्न उनले फोन उठाएनन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन्।

प्रकाशित: २९ पुस २०८१ २०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App