राजनीति

सभापति लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (सोमबार) पुनः अदालतमा उपस्थित गराइने छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। 

हिजो थुनछेक बहस नसकिएका कारण उनलाई हिरासतमा पठाइएको थियो। योसँगै रवि थुनछेक बहस नसकिएसम्म प्रहरीको नियन्त्रणमा रहने भएका छन्। उनी जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने भएका छन्। सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरी जिम्मा लगाउने निर्णय गरेको थियो। 

बयानपछि लामिछानेले परिवारको जिम्मा लगाउन आग्रह गरेपनि न्यायाधीशले प्रहरीकै जिम्मा लगाउन उपयुक्त ठहर गरेका हुन्। रविमाथि गोर्खा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको पाँच करोड भन्दा धेरै अपचलन गरेको आरोप छ। 

प्रकाशित: २९ पुस २०८१ ०७:३९ सोमबार

#NagarikNews