राजनीति

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदै: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

आइतबार राजधानीमा नेपाल होटल व्यवसायी महासंघको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी काम अघि बढाइरहेको दाबी गरे।

नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्ने मन्त्री पाण्डेले जोड दिए। नेपालको पर्यटकीय सम्भावना देखाउने माध्यम नागरिक उड्डयन क्षेत्र भएकाले हवाई उडानलाई सहज र सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको उनको भनाइ थियो।

‘विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको छ। यसलाई सजिलो गरी देखाउने, छोटो समयमा धेरै देखाउन सक्ने माध्यम भनेको नागरिक उड्डयन क्षेत्र हो। हामी हेलिकप्टरबाट पनि जानसकौँ, जहाजबाट पनि जानसकौँ। विदेशबाट पनि हवाई सेवाबाट आउनसकौँ। हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छाैं। हामी यही महिनामा के योजना छ भने हाम्रो विषयगत समिति छ। केन्द्रको मन्त्रीको अध्यक्षतामा संघ र प्रदेशका पर्यटनमन्त्रीहरु र स्थानीय तहसँग जोडिएको विषयगत समितिको बैठक बदैछौं।’

मन्त्री पाण्डेले पर्यटनसँग सम्बन्धित मन्त्रालय, सरकारी र निजी निकायहरुसँग समन्वय र सहकार्य गरेर माघमा सर्वपक्षीय सम्मेलन गर्ने जानकारी दिए।

प्रकाशित: २८ पुस २०८१ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App