नेपाल बार एसोसिएसनले रिक्त न्याय परिषद्को सदस्य पदमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गरेको छ।
शनिबार बसेको बार कार्यसमितिको बैठकले खड्काको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।
बारका महासचिव अञ्जिता खनालका अनुसार आइतबार सिफारिससम्बन्धी विवरण सहितको पत्र न्याय परिषदमा पठाइनेछ। न्याय परिषदले उक्त पत्र संसदीय सुनुवाइ समितिमा पठाएपछि खड्काको नियुक्तिका लागि प्रक्रिया अघि बढ्नेछ।
न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ। ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ।
बारबाट नियुक्त सदस्य रामप्रसाद श्रेष्ठ पुस १५ गते अवकाश पाएपछि उक्त पद खाली थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र सिफारिस भएका व्यक्तिको औपचारिक नियुक्ति हुनेछ।
न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ।
प्रकाशित: २७ पुस २०८१ १७:२८ शनिबार