नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
शनिबार आधुनिक नेपालको निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त राखेका हुन।
अध्यक्ष नेपालले पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता र राष्ट्र एकीकरणका महान अभियन्ताको रुपमा स्मरण गर्दै भने, “यो दिन सबै नेपालीहरु र राष्ट्रका लागि गौरवको दिन हो। उहाँ नेपाल आमाको असल सन्तति, असल योद्धा हुनुहुन्छ, जसले इतिहास रच्नुभयो। उहाँ सबै नेपालीको साझा सम्पत्ति हुनुहुन्छ, जसलाई हामीले सम्मान गर्नुपर्छ र उहाँको वीरताको प्रशंसा गर्नुपर्छ।”
उनले नेपालजस्तो भू–परिवेष्ठित राष्ट्रका लागि पृथ्वीनारायण शाहले अघि सारेका परराष्ट्रनीतिका आधारहरू अझै सान्दर्भिक रहेको बताए।
साथै, उनले शाहका दिव्योपदेशहरू जति प्रचार गर्नुपर्नेमा जोड दिए। त्यो हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै भने, “देशलाई माया गर्नुपर्ने, एकतावद्ध गर्नुपर्ने, र राष्ट्रिय गौरवलाई उचो बनाउँदै जनतालाई सुखी बनाउने दिशामा अगाडि बढ्नुपर्ने समय आएको छ।”
अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको योगदान र दिव्योपदेशको महत्वलाई उजागर गर्दै राष्ट्र र जनताको भलाइका लागि त्यसलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित: २७ पुस २०८१ १७:१७ शनिबार