उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी गरेको बताएका छन्।
शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले सरकारले नेपाली उत्पादन प्रोत्साहनका लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने जिकिर गरे।
मन्त्री भण्डारीले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको पनि जानकारी दिए। उनका अनुसार त्यसका लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको छ। सरकारले अबको एक हप्ताभित्र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई राखेर विशेष अभियान घोषणा गर्ने उनले बताए।
'हामी अबको एक हप्ताभित्र छलफल प्रधानमन्त्रीज्यूलाई राखेर विशेष अभियानको साथमा अहिलेका प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि राखेर एउटा कमिटमेन्ट हामी अब मेरो देश मेरो उत्पादनलाई राष्ट्रिय अभियानका रूपमा लैजान्छौं। यसैगरी हामीले यसको निर्यात गर्ने हामी नेपाल अरूको मात्रै बजार होइन। नेपाली बजार नेपालको उत्पादन अरू पनि हामीले बजार विस्तार गर्नसक्छौँ,' उनले भने।
प्रकाशित: २७ पुस २०८१ १२:४१ शनिबार