उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकासका लागि अधिकारसँगै सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन्।
शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले समाजमा युवाहरू नेपालमा बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको जानकारी दिए।
युवा पलायन रोक्न जिम्मेवारी नलिने तर भ्रम सिर्जना गर्नेहरूबाट सचेत हुनुपर्ने उनको भनाई रहेको थियो। अधिकारको कुरा ठूलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको उनको भनाई थियो।
उनले भने, “अब हामीहरूले यो भएन, यसो भैदिए हुन्थ्यो भन्ने जुन तपाईंहरूको राय र सुझाव छ। त्यो सुझाव कार्यान्वयन गर्नेतिर नेपाल सरकार लाग्ने नै छ भन्नेकुरा विश्वास दिलाउन चाहन्छौँ। खास गरेर अहिले एउटा न्यारेसन के छ भन्दाखेरि नेपालमा कोही युवाहरू बस्नै चाहँदैनन् भन्ने छ। यसरी युवाहरू नेपालमा बस्न चाहिरहेका छैनन् भनेर भाष्य निर्माण गर्नेहरूको त काम सकियो। तर यस समस्याको समाधान गर्नको लागि सबैले जिम्मेवार भएर गर्न सक्नुपर्यो नि।” उनले मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।
प्रकाशित: २६ पुस २०८१ २०:५४ शुक्रबार