राजनीति

सभापति यादव र सांसद सुवालबीच भनाभन

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र सांसद प्रेम सुवालबीच भनाभन भएको छ। बिहीबार (आज) सिंहदरबारमा बसेको बैठकमा सभापति यादव र सांसद सुवालबीच भनाभन भएको हो।

बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए। सांसद सुवालले आफूले असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गरेको बताए।

सुवालले समितिका सभापति निरङ्कुश ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।

‘सहमति छैन भनेपछि पनि पेलेर चलाउने, कुरा सुन्दै नसुनी निर्णय लिने ? राणा शासन होइन यो, तपाईं राणाको अवतार नलिनुस्’, सांसद सुवालले सभापति यादव हकारे।

उनले थपे, 'मैले असहमति छ भनिसकेपछि किन बोल्न नदिने ? राणा शासन जसरी समाप्त भयो त्यसैगरी तपाईं पनि सिद्धिन्छ । तपाईंलाई मैले भनिसकेपछि, मेरो आपत्ति छ भनेपछि मलाई सोध्नु पर्दैन ? निरंकुश बन्ने ? राणा शासन चलाउने ? तपाईं सत्ताधारी पार्टीको पुच्छर नबन्नुस् ।’

प्रकाशित: २५ पुस २०८१ १३:४१ बिहीबार

#premsuwal #rajkishoryadav