राजनीति

इन्टरनेटबाटै सेयर खरिद–बिक्री आदेश दिन सकिने

काठमाडौं – फोन, एसएमएस र ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको आदेश दिँदै आएका लगानीकर्ताले अब त्यस्तो झन्झट उठाउनु नपर्ने भएको छ। सेयर किनबेचमा सहजीकरण गर्दै धितोपत्र बोर्डले इन्टरनेटमार्फत खरिद–बिक्रीको आदेश दिन सक्ने व्यवस्था गरेपछि लगानीकर्ता ब्रोकरसम्म पुग्नु नपर्ने भएको हो।

नयाँ वर्षको सुरुवातसँगै इन्टरनेटमार्फत सेयर खरिद–बिक्री आदेश दिन सकिने भएको छ। फोन, एसएमएस र ब्रोकर कार्यालयमा गएर खरिद–बिक्री आदेश फारम भर्ने व्यवस्थाको अन्त्य भएको बोर्डको भनाइ छ।

नियामक निकाय धितोपत्र बोर्डले वैशाखदेखि नै इन्टरनेटमार्फत सेयर कारोबार गराउन ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ। त्यही निर्देशन अनुसार ब्रोकर कम्पनीले लगानीकर्तालाई इन्टरनेटमार्फत सेयर खरिद–बिक्री सुविधा दिन सुरु गरेका हुन्।

यसअघि सेयर खरिद–बिक्रीका लागि लिखित रुपमा, फोनबाट र एसएमएसबाट आदेश दिँदै आएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले बताए। ‘नयाँ वर्षसँगै इन्टरनेटबाटै सेयर खरिद–बिक्री आदेश दिन सकिने छ,’ उनले भने, ‘यसले लगानीकर्तालाई थप सुविधा हुनेछ।’

ब्रोकर कम्पनीले सफ्टवेयर त्यही किसिमले तयार पारेकाले इन्टरनेटमार्फत सेयर खरिद–बिक्री गर्न समस्या नहुने पनि सिजापतिले बताए। ‘अब इन्टरनेटबाट खरिद–बिक्री आदेश दिन सकिन्छ,’ उनले भने, ‘यसले अनलाइन कारोबारलाई पनि सहज पार्नेछ।’

बोर्डले गत फागुन २६ गते पनि यस्तो व्यवस्था गर्न ब्रोकरलाई निर्देशन दिएको थियो। तर, त्यसबेला उक्त व्यवस्था लागू हुन सकेन। बोर्ड र ब्रोकरबीच पटक–पटक छलफल गरेपछि यस्तो निष्कर्षमा पुगिएको सिजापतीले जानकारी दिए। ‘यसअघि पनि लगानीकर्ताले बिल र आफ्नो कारोबार इन्टरनेटबाट हेर्न पाउँथे,’ उनले भने, ‘अब भने इन्टरनेटबाटै सेयर खरिद–बिक्री आदेश दिन सक्ने छन्।’

नयाँ व्यवस्थाले लगानकर्तालाई झन्झट नहुने, सेयर कारोबार र अभिलेख अझ बढी प्रभावकारी, सहज, पारदर्शी हुने तथा काम छिटो हुने बोर्डले जनाएको छ । यसले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गर्न लागेको अनलाइन सेयर कारोबारलाई समेत सहज पार्नेछ।

लगानीकर्ताको हितलाई दृष्टिगत गरी इन्टरनेटमार्फत धितोपत्रको कारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्तामैत्री बनाउन मदत पुग्ने बोर्डको भनाइ छ। ‘यसले धितोपत्र दलाल व्यवसायीको कार्यालयमा रहने कारोबारसम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्नेछ,’ बोर्डका एक अधिकारीले भने, ‘अहिले उपयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेटमार्पmत धितोपत्र कारोबार गर्न खरिद–बिक्री आदेश दिने व्यवस्था गर्न सक्नेछन्।’

सेयर खरिद–बिक्री व्यवस्थालाई थप परिमार्जित र सुधार गर्दै जाने क्रममा धितोपत्र दलाल व्यवसायी, हाल प्रयोगमा रहेको ब्रोकर ब्याक अफिस प्रणाली प्रदायक कम्पनी तथा लगानीकर्ता संघहरुसँग विभिन्न चरणमा विस्तृत छलफल गरिएको बोर्डको भनाइ छ। ‘छलफलबाट प्राप्त सुझाव अनुरुप हाल प्रयोगमा रहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा आवश्यक सुधार गरी उक्त सुविधा समावेश गरिएको हो,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘इच्छुक लगानीकर्ताका लागि आगामी २०७५ सालको सुरुदेखि इन्टरनेटमार्पmत धितोपत्र खरिद–बिक्री लागि आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीलाई परिपत्र गरिएको छ।’

यो व्यवस्थाबाट लगानीकर्तालाई धितोपत्र खरिद–बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालय पुग्नुपर्ने झन्झट अन्त्य हुने, धितोपत्रको कारोबार प्रक्रिया तथा अभिलेख सम्बन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्तामैत्री हुने र निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोबार प्रणालीको लागि आधार तयार भई कारोबार सहज हुने बोर्डको अपेक्षा छ।

तर, यस्तो व्यवस्था कार्यान्वयनमा आउँदा ब्रोकरले थुप्रै चुनौती सामना गर्नुपर्ने छ। ‘इन्टरनेटमार्फत खरिद–बिक्री आदेश दिँदा मानिलिउँ कुनै कम्पनीको सेयर मूल्य आठ सय ६० रुपैयाँ छ, इमेल आउँदा सेयरको मूल्य आठ सय ७० पुग्यो भने खरिद–बिक्री गर्ने कि नगर्ने? भन्ने समस्या आउन सक्छ,’ सिजापतीले भने, ‘यसैगरी, आठ सय ७० रुपैयाँमा खरिद वा बिक्री गर्न आदेश दिएको सेयरको मूल्य आठ सय ६० रुपैयाँमा झ¥यो भने के गर्ने ? यस्ता समस्या आउन सक्छन्।’ कार्यान्वयन गर्दै जाँदा यस्ता समस्या समाधान हुँदै जाने अपेक्षा गरिएको पनि सिजापतीले बताए।

प्रकाशित: २ वैशाख २०७५ ०५:१६ आइतबार

इन्टरनेटबाटै सेयर खरिद–बिक्री आदेश सकिने