राजनीति

लोकप्रिय मतका आधारमा पाँच वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्छ: थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकप्रिय मतले पनि पाँचै वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन गरेर बहुमत नआए सबैभन्दा धेरै मत ल्याउने दलले पाँचै वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

अहिलेको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको बताउँदै उनले भने, ‘यसले देशमा अस्थिरता मच्चियो। त्यसैले अब बहुमत आएन भने पनि केही छैन, जुन पार्टीले धेरै (लोकप्रिय) मत ल्याउँछ त्यही पार्टीले पाँचै वर्ष सरकार चलाउन पाउनुपर्छ। संविधान संसोधन गरेर यो कानुनी व्यवस्था गर्नुपर्छ।’

यसअघि यस्तै प्रस्ताव नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि गरेका थिए। उनले पनि वर्तमान निर्वाचन प्रणालीअनुसार कुनै पनि दलको बहुमत आउने सम्भावना नरहेकाले लोकप्रिय मत ल्याउने पार्टीले सरकार चलाउन पाउनुपर्ने बताएका थिए।

महामन्त्री थापाले वर्तमान निर्वाचन प्रणालीका कारण गठबन्धन संस्कार भित्रिएको बताए। ‘कसैको पनि बहुमत आउने सम्भावना छैन’, उनले भने, ‘यही कारण गठबन्धन गर्नुपर्ने बाध्यता छ। यो पनि स्वस्थ नभई विकृत गठबन्धनको अभ्यास भइरहेको छ।’

थापाले गठबन्धनको तीतो अनुभव दलहरूसँग रहेको बताए। ‘चुनावअघि नै गठबन्धन ग¥यौं’, उनले भने, ‘चुनावपछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा गठबन्धन बदल्यौं ?’ उनले यस्तो विकृत गठबन्धनका कारण अहिले प्रधानमन्त्रीले दिनदिनै सरकार बदलिन्न भनेर स्पष्टीकरण दिइरहनुपरेको दाबी गरे। ‘अहिले प्रधानमन्त्रीले यो सरकार बदलिन्न, गठबन्धन पूरा समय जान्छ भनेर भाषण सुरु गर्नुपर्ने भएको छ।’

उनले जर्मनीलगायतका देशमा गठबन्धन लगातार १५/२० वर्ष चले पनि नेपालको सन्दर्भमा गठबन्धन संस्कार ठीक रूपमा नचलेको बताए।

महामन्त्री थापाले प्रदेश सरकारको मन्त्रीपरिषदको आकार पनि घटाउनुपर्ने बताए। प्रदेश सरकारको आकार ठूलो भएको बताउँदै उनले भने, ‘संघमा पनि संविधानले नबाँधेको भए ५० जनाको मन्त्रीपरिषद् भइसक्थ्यो। तर संविधानले नै २५ जनाभन्दा बढी नबनाउने भनेका कारण बनाएका छैनन्। त्यस्तै, प्रदेशमा पनि ठूलो मन्त्रीपरिषद् छ। अब त्यसलाई पनि संविधानले बाँधेर ४/५ जना वा कति बनाउने हो तोक्नुपर्छ।’

महामन्त्री थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताए। उनले आफ्नो वा अर्का जोसुकैको पार्टी भए पनि अपराधी र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्नेमा जोड दिए। ‘अब पार्टीले व्यक्तिले गरेको अपराधको भारी बोक्दैन’, उनले भने, ‘कांग्रेसमा रहेका जोसुकै होस्, चाहे त्यो सहकारी ठगीमा संलग्न होस् वा मान्छेलाई बेचबिखनमा संलग्न होस्, जो दोषी देखिए पनि कारबाही हुन्छ।’

उनले अब व्यक्तिले गरेको दोषको भारी पार्टीले लिएर गाली खानुपर्ने अवस्था अन्त्य गर्ने बताए। त्यसका लागि सबैले आ–आफ्नो पार्टीमा कुरा उठाउनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले विभिन्न भ्रष्टाचार काण्डका बारेमा छानबिन हुनुपर्ने बताए। ‘ती सबै छानबिनका लागि अख्तियारलाई दिने हो कि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउने हो’, उनले भने, ‘ललिता निवास, गिरिबन्धु, क्यानटोनमेन्ट वा अरू जेजे छन्, ती सबैको छानबिन गर्नुपर्छ।’

उनले सरकारमा रहुञ्जेल प्रशंसाको पगरी गुथ्ने र सरकारबाट बाहिरिएको दिनदेखि सत्तोसराप गर्ने प्रवृत्ति राम्रो नभएको बताए। त्यसैले सबै भ्रष्टाचार र काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २१ पुस २०८१ ०८:४८ आइतबार

# Popular opinion # Nepali Congress General Minister Gagan Kumar Thapa