राजनीति

अहिले सत्ता पक्ष र प्रतिपक्षबिच बोलचाल छैन: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राजनीतिक तहमा स्वच्छता कायम गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको अवस्था गम्भीर र जटिल भएको भन्दै राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बस्नुपर्नेमा जोड दिए।

उनले राजनीति नीतिहरुको राजा भएकाले यसको स्वच्छता र सुधारले मात्र समग्र देशको प्रगतिमा सकारात्मक प्रभाव पर्ने बताएका छन्।

दाहालले विगतमा सहमति र संवादका लागि थुप्रै पहल भए पनि अहिले सत्ता पक्ष र प्रतिपक्षबीच संवादको अभावले समस्या झन् जटिल बन्दै गएको उल्लेख गरे। उनले सत्ता र प्रतिपक्ष दुवैको जिम्मेवारीप्रति आलोचनात्मक टिप्पणी गर्दै भने, "सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा भन्नु विगतदेखि नै देखिएको समस्या हो।"

व्यवसायीहरूको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा दाहालले जोड दिए। उनले साना तथा मझौला व्यवसायीहरूलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताए।

साथै, व्यवसाय दर्ता प्रणालीलाई सरल बनाउन एकद्वार प्रणाली लागू गर्ने, समयसापेक्ष भन्सार दर परिमार्जन गर्ने, शहरी क्षेत्रमा वैज्ञानिक घर भाडा कर लागू गर्ने, र कर प्रक्रिया सुधार गर्दै प्रमाणपत्र प्रदानपछि पुनरावलोकन नगर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

दाहालले व्यवसायीहरूको समस्यामा महासंघले उठाएका एजेन्डाहरूलाई समय सान्दर्भिक भन्दै सरकारले व्यवसायमैत्री वातावरण निर्माणमा तत्परता देखाउनुपर्ने धारणा राखे।

उनले सुशासन, सामाजिक न्याय, र आर्थिक विकासलाई अगाडि बढाउन आफू प्रतिपक्षमा रहेर पनि समर्थन गर्न तयार रहेको उल्लेख गरे।

प्रकाशित: २० पुस २०८१ १७:३२ शनिबार