राजनीति

गगन थापा भन्छन्: ठगी र बदमासी गरे प्रहरीले पाता फर्काएर लैजान्छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनी शासनमा कोही कसैले ठगी र बदमासी गरेर प्रहरीको कठघरामा उभिनुपर्ने बताएका छन् । बोलीचालीको भाषामा यसलाई प्रहरीले पाता फर्काएर लैजान्छ भन्ने थापाले बताए । शनिवार आयोजित गण्डकी कांग्रेसको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री गगनले यस्तो बताएका हुन् । 

‘सहकारी खोलेर ठग्यो भने । त्यो सहकारीको पैसा लगेर महिनामा आठौँ लाख, १० औँ लाख तलब खाएर लुटपाट ग¥यो भने, त्यसलाई के गर्छ प्रहरीले ? हाम्रो बोलीचालीको भाषामा पाता फर्काएर लैजान्छ,’ महामन्त्री गगनले भने, ‘त्यही होइन कानुनको शासन भनेको ? सबैलाई बराबर हुनुपर्छ होइन ?’ 

यदि सहकारी ठगीमा कांग्रेस नेता पनि परेको भए आफूले यसै गरी पाता फर्काएर लैजान गृहमन्त्री र प्रधानमन्त्रीसमक्ष भनिरहेको महामन्त्री गगनले बताए । 

‘नेपाली कांग्रेसको नेता होला पदाधिकारी होला ठुलै मान्छे होला मैले यहाँबाट होइन, बाहिर मात्र होइन सरकारको गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई कोठाभित्र भनिरहेको छु, सार्वजनिक पनि भन्छु । यदि कांग्रेसको नेता, पदाधिकारी कोही मान्छे सहकारीको ठगीमा कहीँ कतै संलग्न देखिएको छ भने त्यसै गरी पाता कसेर लैजानुस्,’ महामन्त्री थापाले भने । 

आफूलाई कृषिको अनुदान हिनामिनाको आरोप लगाउने भिडलाई पनि प्रमाण सहित ल्याएर यसै गरी पाता फर्काएर लैजान गगनले चुनौती दिए । उनले भने, ‘मलाई बेलाबेलामा खास गरीकन नेकपा एमालेका साथीहरूले सुरु गरेको कृषिको अनुदानमा गडबड ग¥यो भन्ने विषय आयो । म पटक पटक भनिरहेको छु, म नेपाली कांग्रेसको सदस्य गगन थापाले कुनै एउटा नागरिकले सार्वजनिक सम्पत्ति अघि मैले भनेजस्तै अनुदान पनि अपचलनमा उसलाई दण्ड लाग्छ भने मलाई झन् बढी लाग्नुपर्छ । किनकि म सार्वजनिक पदधारी मान्छे हुँ । मलाई पाता कसेर लगिहाल्नु पर्छ ।’ 

महामन्त्री गगनले त्यसरी प्रहरीको थुनामा रहेका व्यक्तिबारे पार्टीको झन्डा बोकेर सडकमा तमासा देखाउन नहुने पनि सङ्केत गरे । 

‘अनि मलाई पाता कसेर लगेको छ भने मलाई तपाई माया गर्नु हुन्छ गर्नुस्, सहानुभूति देखाउनुहुन्छ देखाउनुस्, भेट्न आउनुहुन्छ भने आउनुस्, तर झन्डा लिएर बाहिर नआउनुस् ।झन्डा लिएर हाम्रो दाइ भनेर नआउनुस्,’ गगनले भने । 

प्रकाशित: २० पुस २०८१ १५:५३ शनिबार

#Gagan thapa