राजनीति

दाहाल नेतृत्वको सरकारले जगाएको आशामा ओली सरकारले निराशा थप्यो : किराती

नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले जगाएको आशामा केपी शर्मा ओली नेतृत्वको सरकारले निराशा थपेको बताएका छन्।

शुक्रबार (आज) साँझ किरातीले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, 'दाहाल नेतृत्वको सरकारले जगाएको आशामा ओली सरकारले निराशा थपेको छ।'

दाहाल नेतृत्वको सरकारले आशा जगाएको कारण गत स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रप्रति जनआकर्षण बढेको किरातीले बताएका छन्। 'फलत मिनी जनमत संग्रह (स्थानीय तहको उपनिर्वाचन) परिणामले हाम्रो पार्टीप्रति जनताको आकार्षण बढेको कुरा स्पष्ट भएको छ,' उनले भनेका छन्।

आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा ती जनअपेक्षालाई ग्रहरण गरेर छलफल अगाडि बढाउनुपर्ने माग किरातीको छ। 'जनताको आशा र सपनालाई फुलाउनको लागि एक शक्तिशाली र अनुशासित पार्टी अनिवार्य सर्त हो। त्यसैले विधिको विकास गर्न पूर्वघोषित विषेश महधिवेशनमा जाउँ । दाहालको आजको आवश्यकता र औचित्यलाई अझ स्थापित गर्न आगामी केन्द्रीय समितिको बैठकमा जुटौँ,' उनले भनेका छन्।  

अनुशासित र सदाचारितासहितको शक्तिले मात्र भ्रष्टाचारलाई पराजित गर्न सक्ने उनले औँल्याएका छन्।

प्रकाशित: १९ पुस २०८१ २०:४७ शुक्रबार

#sudankirati