राजनीति

बलात्कारीलाई हदैसम्मको कारबाही : मन्त्री थापा

म्याग्दी- बलात्कारीलाई आजीवन कारावासको सजायँको कानुन निर्माणको तयारी गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले बताएकी छन्। दैनिकजसो बलात्कार, महिला हिंसाका घटनाले समाजमा महिला, बालबालिकाले असुरक्षित महसुस गर्न थालेको बताउँदै मन्त्री थापाले मन्त्रालयले बलात्कारमा संलग्नलाई कानुनको अधिकतमा प्रयोग गदै जन्मदैक र महिला हिंसामा संलग्नलाई समेत अहिलेसम्मकै कडा कारबाहीका लागि मन्त्रिपरिषदमा पेश गरी संसदमा लैजाने तयारी गरिएको बताईन्।

 शनिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाको महादेव माविको  स्वर्ण जयन्ती तथा विद्यालयको पुनः निर्माण अभियानको उद्घाटन गदैं मन्त्री थापाले महिला हिंसाको अन्त्यका लागि सरकारले ठोस पहल गरेको बताईन्।

‘बालबालिका देखी जेष्ठ नागरिकलाई सुरक्षा दिने गरी तयारी भइरहेको छ ।गाउँसहरबाटै महिला हिंसाको अन्त्य गर्ने गरी काम गर्नेछु’ मन्त्री थापाले भनिन्। उनले देशमा बढ्दै गएको बलात्कार र महिला हिंसा रोक्न फाँसीको सजायको समेत आवाज उठेको बताईन्। ‘पशुभन्दा पनि तल्लो सोचाई भएकालाई फाँसी दिने कानुन बनाउँ जस्तो पनि लाग्छ, अहिले कानुनमा त्यो ब्यवस्था छैन’ थापाले भनिन्। उनले दैनिक समाचार तथा मन्त्रालयमा दुधे बालिकालाई समेत बलात्कार गरिएका घटनाले स्तब्ध हुने गरेको बताईन् । संक्रमणकालिन अवस्थामा गाउँमा जनप्रतिनिधि विहिन भएकाले बलात्कार,महिला हिंसाका घटना घटेपनि गुपचुप पार्ने, हिंसालाई निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन नहुँदा हिंसामा संलग्नको आत्मबल बढेको बताउँदै मन्त्री थापाले हरेक स्थानीय तहमा बालिका, अपाङ्ग, महिलामा हुने बलात्कारका घटना न्यूनिकरण गर्ने कार्यक्रम समेत सञ्चालन गरिने बताईन् । ‘आजीवन काराबासको सजाय बनेको  ५ मिनेटमै कार्यान्वयन गर्नेछु । वर्तमान अवस्थामा कानुनमा देखिएका कमिकमजोरीको पनि पहिचान गरिएको छ’ मन्त्री थापाले भनिन्।

प्रकाशित: १ वैशाख २०७५ १४:११ शनिबार

बलात्कारीलाई हदैसम्मको कारबाही मन्त्री थापा