राजनीति

पोखरेलको पुस्तक लोकार्पणमा भण्डारी प्रमुख अतिथि, देखिएनन् ओली

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेको 'आमा, सपना र ताराहरू' पुस्तक सार्वजनिक भएको छ।

शुक्रबार (आज) काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा लेखक पोखरेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक संयुक्त रूपमा लोकार्पण गरे।

लेखक पोखरेलले पुस्तकमा नामजस्तै आमा र सपनाका कुराहरू समेटिएको बताए।

एमाले उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने देखिएनन्। तर, पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भने प्रमुख अतिथि थिइन्।

पुस्तकमाथि आफ्नो धारणा राख्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नआई सामाजिक नायक बनेर बस्न सुझाए। जवाफमा भण्डारीले केही बोलिनन्।

तर, के भनिन्छ भने उनले पुन: सक्रिय पार्टी राजनीतिमा फर्किन चाहेकी छन्। राष्ट्रपति निर्वाचित भएपछि त्यागेको पार्टी सदस्यता उनले गत वैशाखमा आफ्नो प्रतिनिधिमार्फत नवीकरण गरिसकेकी छन्। 

यसअघि बिहीबार मात्रै भण्डारी र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चपली हाइटमा अढाइ घण्टा संवाद भयो। त्यसबीचमा संवाद भएको विषय आधिकारिक रूपमा बाहिरिएको छैन।

तर, पूर्वराष्ट्रपति भण्डारीलाई 'आमा, सपना र ताराहरू'का लेखक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले भने सक्रिय राजनीतिमा आउनका लागि उक्साइरहेका छन् भनिन्छ। यस्तो बेलामा उनको पुस्तक लोकार्पण कार्यक्रममा ओली नदेखिनु र भण्डारी मात्रै हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

हुनु त प्रधानमन्त्री र राष्ट्रपति दुई फरक पद हुन्। प्रधानमन्त्री कार्यकारी हो भने राष्ट्रपति 'सेरेमोनियल' हो। फेरि कार्यक्रममा कसलाई प्रमुख अतिथि बनाउने, कसलाई बोलाउने, कसलाई नबोलाउने भन्नेबारे लेखक स्वतन्त्र हुन्छ। यसर्थ, यो सामान्य एउटा विषय र प्रक्रिया हो।

तर, विद्यमान पृष्ठभूमिमा भने यसका अनेकन् अर्थ हुने बताइन्छ। कतिपयले वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति भण्डारीलाई मात्रै बोलाएर आफ्नो कित्ता 'क्लियर' गरेको रूपमा अर्थ्याउन खोजेको देखिन्छन्। 

त्यसो त एमालेको ११औं महाधिवेशन नजिकिँदैछ। २०७८ मंसिर १० गते सौराहामा १०औं महाधिवेशन गरेको एमालेले २०८२ मंसिरभित्र ११औं महाधिवेशन गरिसक्नुपर्दछ।

११औं महाधिवेशनको पूर्वसन्ध्यामा खासगरी एमाले र आम रूपमै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा भइरहेको बेलामा भएको यो कार्यक्रमले सबैको ध्यान खिचेको छ। 

यो पनि पढ्नुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- सामाजिक प्रेरणाका नायक बन्नुस्

प्रकाशित: १९ पुस २०८१ १५:५० शुक्रबार