राजनीति

गगनको प्रस्तावमा बाबुराम सहमत: भ्रष्टाचारबारे राष्ट्रिय बहस होस्

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिमा राखेको प्रस्तावको समर्थन गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल एक्समा महामन्त्री थापा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बोलिरहेको भिडिओ सेयर गर्दै त्यसमा थापाले राखिरहेको प्रस्तावमा आफ्नो समर्थन रहेको भट्टराईले बताएका छन् । 

‘बस–रेलमा यात्रा गर्दा पकेटमारी गरिसकेपछि पकेटमारा नै ‘चोर चोर’ भन्दै दौडिए झैँ नेपालमा आआफ्नो पालामा विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका उच्च पदस्थ व्यक्तिहरू नै पानीमाथिको ओभानो बनेर भ्रष्टाचार विरोधी अभियन्ता बन्न खोज्नु विडम्बनापूर्ण छ,’ भट्टराईले लेखेका छन्, ‘यसबारे गगन थापाको भनाई मनासिवै लाग्छ । यसबारे राष्ट्रिय बहस होस् र सार्थक सहमति बनोस् ।’ 

महामन्त्री थापाले संसदीय समितिमा बोलेको भिडिओमा भ्रष्टाचारको विषय नेपालको सन्दर्भमा छलफल गर्नुपर्ने विषय बनेको बताएका छन् । 

‘भ्रष्टाचारको विषय हाम्रो सन्दर्भमा छलफल गर्नुपर्ने विषय कसरी बन्दै गयो भने, हामीले एक अर्कालाई आरोपित गर्नका लागि, कसैले पनि कसैलाई खुइल्याउनुपर्‍यो भने सबैभन्दा सजिलो हतियार भ्रष्टाचारसँग जोडिएका विषय हुने भए,’ महामन्त्री थापाले भनेका थिए, ‘बरु एउटा बैठक आमन्त्रित गरेर भए पनि अर्को पूर्व प्रधानमन्त्री(शेरबहादुर देउवा), प्रधानमन्त्री(केपी शर्मा ओली र एक जना पूर्व प्रधानमन्त्री(दाहाल) यही हुनुहुन्छ । तीनै जना राखेर छलफल गरौँ । भ्रष्टाचारका कुन कुन काण्डको फाइल खोल्ने हो ? बेलाबेलामा फाइल खोल्ने हो, फाइल खोल्ने हो ।’ सत्तामा हुँदा फाइल, बाहिर निस्किदा फाइल भन्ने अवस्थाले नागरिक नै भ्रमित भएकाले यी विषय सँगै बसेर छलफल गर्नुपर्ने प्रस्ताव महामन्त्री थापाले गरेका थिए । 

प्रकाशित: १९ पुस २०८१ १४:०८ शुक्रबार

#Gagan thapa #Dr Baburam Bhattrai