राजनीति

युवा संघको केन्द्रीय कमिटी बैठक बस्दै, नेतृत्व परिवर्तन होला ?

काठमाडौं– युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक यही वैशाख ३ र ४ गते बस्ने भएको छ। लामो समयपछि राजधानीमा बस्न लागेको बैठकमा नेतृत्व परिवर्तन, आगामी कार्यदिशा, वाम एकता लगायत विषयमा छलफल हुने र संगठनको आधिकारिक धारणा तय हुनेछ।

यसैगरी बैठकमा लामो समयदेखि थाँती रहेको राज्यलक्ष्मी गोल्छा प्रकरण र नेतृत्व हत्याउनका लागि नेताहरुलाई यथार्थता लुकाउनेगरी पार्न खोजेको भ्रमपूर्ण हस्ताक्षर संकलनपनि महत्वपूर्ण एजेण्डाको रुपमा आउने एक पदाधिकारीले बताए। 

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र परिवर्तित परिस्थितीका कारण लामो समयपछि बैठक बस्न लागेको बैठकले केही केन्द्रीय सदस्य मनोनीत गर्ने, सचिवालय बढाउने, स्थायी कमिटीको आकार बढाउने र जिम्मेवार हेरफेरको निर्णय लिने बताइएको छ।

नेतृत्व परिवर्तन होला ?

केन्द्रीय कमिटी बैठक आह्वान भएसँगै युवासंघमा नेतृत्व परिवर्तनको बहस पनि चर्किएको छ। युवा संघ नेपालले तय गरेको महाधिवेशन पार्टीको निर्देशनमा रोकिएको थियो। हाल पनि पार्टीको स्थायी कमिटी र मोर्चाबाट कुनै पनि नेतृत्व चयन, पुनर्गठन र महाधिवेशन नगर्ने भनी निर्देशन जारी भएको छ। तर, यही बेला वर्तमान अध्यक्ष राजिव पहारी प्रदेश सांसद निर्वाचित भएपछि संगठनमा नेतृत्व परिवर्तनको चर्चा अझै बढेको छ। एकै व्यक्ति सांसद र अध्यक्ष हुन नहुने भन्दै नेतृत्वका लागि विभिन्न पदाधिकारीले लबिङ गरिरहेका छन्। यस्तो बेला अब पार्टीको निर्देशन विपरित नेतृत्व परिवर्तन होला कि पहारीले नै निरन्तरता पाउलान त्यो हेर्न बाँकी नै छ। जानकार स्रोतका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रसँग पार्टी एकता नभएसम्म नयाँ नेतृत्वभन्दा पनि पहारीलाई नै निरन्तरता दिने पक्षमा छन्। यसकारण नेतृत्व परिवर्तनको सम्भावना कमै रहेको बताइन्छ। यद्यपी केही पदाधिकारी नेतृत्व परिवर्तनका लागि लबिङ गरिरहेका छन्।

नयाँ कार्यसमितिमा क–कसको दाबेदारी ?

युवा संघको नयाँ नेतृत्वका लागि ४ जना दाबेदार छन्। नेतृत्व परिवर्तनको सम्भावना कम भएपनि अध्यक्षमा दिलु पन्त, नरेश शाही, माधव बास्तोला र रमेश पौडेलले लबिङ गरिरहेका छन्।

त्यस्तै, उपाध्यक्षमा हस्त शाही, राजेश साह, सन्तोष रावल, निरेशलाल सिंह, दीपक जिएम, जोगी यादव, प्रभातविक्रम कटवाल, रामकृष्ण खड्का, सुवास जिसी लगायत आकांक्षी छन्। महासचिवमा किरण पौडेल, क्रान्ति बुर्लाकोटी र रमेश आचार्य छन्।

सचिवमा संगीता अछामी, फणिन्द्र लुइँटेल, उर्मिला सुनुवार, गजेन्द्र शाही, मदन रेग्मी, मुना शर्मा, सीता सुवेदी, हिमाल लिम्बु, रामजी सापकोटा, अशोक चौलागाईं, श्याम तामाङ, धुव्र यादव, प्रदीप यादव, देवसागर लामा, शिव पौडेल, दिलचक्र राई, अम्बिका पौडेल, विष्णुहरि त्रिपाठी र दलिततर्फबाट कृष्णकमार विक आंकाक्षी छन्।

कोषाध्यक्षमा निपेन्द्र महत, अमित लामा, मनोहर बुढाथोकी, रविन थापा, देवराज  पोखरेल, निरञ्जन नेपाल, सुमन पुरीलगायत आंकाक्षी छन्।

प्रकाशित: १ वैशाख २०७५ ११:५१ शनिबार

युवा संघको केन्द्रीय कमिटी बैठक बस्दै नेतृत्व परिवर्तन होला