राजनीति

रवि लामिछानेसहित प्रतिवादीहरूको थुनचेक बहस जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ। मङ्गलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।

प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनचेक बहस सुरु भएको थियो। बधुबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए। जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु हुने बताइन्।  

'प्रतिवादी तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ,' उनले भनिन्। थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनचेक बहस भइरहेको हो।  

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ।  

सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन्। यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।  

उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ। नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज ६ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो। सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।

प्रकाशित: १८ पुस २०८१ १३:५३ बिहीबार

#rabi lamichhane #Nagariknews