राजनीति

भीम रावलको साढे दुईघण्टे पत्रकार सम्मेलन : ओलीलाई प्रश्नैप्रश्न, आफ्नाबारे कम कुरा

नेकपा (एमाले) बाट निष्कासित भएका नेता डा. भीम रावलले बुधबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरे।

पत्रकार सम्मेलनमा रावलले आफ्ना कुराभन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीका कुरा गरे। उनले ओलीलाई प्रश्नैप्रश्न सोधे।

दशौं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकाले आफूलाई पार्टीभित्र किनारीकृत गरिएको उल्लेख गर्दै रावलले ओलीलाई सोधे, 'तपाईंले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग किन प्रतिस्पर्धा गर्नुभयो ?'

यस्तै उनले दशौं महाधिवेशनमा आफू अध्यक्ष पदका प्रत्याशी बन्दा आफ्नो घोषणापत्रहरू खोसेर च्यात्ने काम गरेको उल्लेख गर्दै सोधे, 'सौराहामा म बसेको होटल बाहिर रक्सी खुवाएर केही युवाहरू पठाउने अनि मेरा अङ्गरक्षक र सहयोगीलाई बस्ने ठाउँ नै नदिने तपाईं केपी ओली नै होइन र ?'

पत्रकार सम्मेलनमा भीम रावल।

यस्तै रावलले ओलीले सुदूरपश्चिम प्रदेशमा 'भीम रावलसँग भेटेर कुरा गर्नेको नम्बर काटिन्छ' भनेर भनेको आरोप लगाए। 'सुदूरपश्चिममा भीम रावलसँग भेटेर कुरा गर्ने नेताहरूको नम्बर काटिन्छ भनेर धम्क्याउने तपाईं केपी ओली नै होइन,' रावलले ओलीलाई सोधे।

आफूलाई नसोधी एमालेको केन्द्रीय सल्लाहकार समितिमा राखिएको रावलले बताए। एमालेमा सुरुदेखि नै जिम्मेवारी प्रदान गर्नुपूर्व सोध्ने परम्परा रहेको उल्लेख गर्दै उनले भने, 'सोधेको भए त्यो जनवादी शैली पनि हुन्थ्यो र परम्पराको निरन्तरता पनि। तर, मलाई कुनै जानकारी नै नदिइकन जिम्मेवारी प्रदान गरियो। म अछाममा थिएँ, मैले सञ्चारमाध्यमबाट थाहा पाएँ। पछि पनि जिम्मेवारी नेतृत्वले मलाई जानकारी गराउनुपर्थ्यो तर, त्यो भएन।'

यस्तै उनले गत कात्तिक ६ गते आफूलाई महासचिव शंकर पोखरेलले स्पष्टीकरणपत्र पठाएको तर, बिना सम्बोधन पठाएको बताए। 'पत्रमा कुनै सम्बोधन थिएन। के पार्टीको कुनै पनि पदमा नरहेको नेतालाई स्पष्टीकरण सोधिन्छ र ? मैले दिइनँ।'

यस्तै ओलीले रावललाई 'होली वाइन पिएर केके प्राप्त गर्नभयो' भनेर प्रश्न गरेका छन्। 'सुरुमै मैले त्यसको विरोध गरेको थिएँ तर, तपाईं केपी ओलीलगायतका नेताहरू सोल्टी होटल गएर दुई दिन बसेर होली वाइन पिउनुभयो। त्यहाँबाट केके प्राप्त गर्नुभयो,' रावलले सोधे।

भीम रावलद्वारा आयोजित पत्रकार सम्मेलन।

यस्तै उनले ओलीले जनतालाई सपना मात्रै देखाउने काम गरेको बताए। 'एक वर्षभित्र सङ्क्रमणकालीन न्याय पूरा गर्ने, पाँच वर्षमा पूर्व-पश्चिम ६ लेनको राजमार्ग बनाउने, ५ वर्षमा पूर्व-पश्चिम विद्युतीय रेल कुदाउने, मेट्रो, मोनोरेल कुदाउने, खाना पकाउने ग्यास चुल्हो-चुल्होमा पुर्‍याउने योजनाहरू कहाँ गए ?,' उनले सोधे, 'किन सपना मात्रै देखाउने, त्यो गर्न किन सक्नुभएन ? जवाफ दिनुपर्दैन ?'

रावलले प्रधानमन्त्री हुँदा पनि राति तीन बजे रअ प्रमुख सामन्त गोयलसँग किन भेटेको भनेर ओलीलाई प्रश्न गरे। 'देशको हितविपरीत किन यसरी भेट गरेको ?' उनले सोधे, 'त्यसको जवाफ खै ?'

'वैकल्पिक शक्तिको निर्माण अपरिहार्य बनेको छ'

ओलीका बारेमा लामो कुरा गरेका रावलले आफ्नाबारे भने खासै कुरा गरेनन्। यति मात्रै भने कि वैकल्पिक शक्तिको निर्माण अपरिहार्य बनेको छ।

उनले नेपाली कांग्रेस बीपीलगायतका दलहरूसँग एकता हुने बताए। 'अहिलेका लागि मातृभूति जागरण अभियान छ। यो पछि सशक्त हुनेछ,' उनले भने।

प्रकाशित: १७ पुस २०८१ १५:२९ बुधबार

#bhimrawal #kpoli