राजनीति

स्वर्णिमको योजना: संसदीय दलको नेतामा दाबी नगर्ने, महाधिवेशनबाट नेतृत्वमा नजर

पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेता अब को बन्छ भन्ने चासो सुरु भएको छ । 

कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन्। तर, संसदीय दलको नेता भने अहिलेसम्म चयन भइसकेको छैन।

आउँदो पुसको १९-२१ गते रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ। उक्त बैठकपछि मात्रै संसदीय दलको नेता चयन हुने नेताहरूले बताएका छन्। 

तर, को हुने भन्नेबारे भने निर्णयमा नपुगिसकेको नेताहरूले बताएका छन्। रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी भन्छन्, 'को हुने भन्ने विषयमा निर्णय भइसकेको छैन। अहिल्यै भन्न पनि गाह्रो हुन्छ। केन्द्रीय समितिको विस्तारित बैठकपछि पार्टीभित्रको सन्तुलन मिलाएर चयन गर्छौँ।'

त्यसो त सम्भावना रहेका नेताहरूमा उपसभापति डा. स्वर्णिम वाग्लेलाई लिइएको छ। अर्का उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति दिइएपछि संसदीय दलको नेतामा वाग्लेलाई अगाडि बढाउने इच्छा सभापति रवि लामिछानेले देखाएको बताइएको छ। बाहिर आम रूपमा पनि यसलाई स्वाभाविक मानिएको छ।

तर, वाग्ले स्वयम्‌ले भने आफूले संसदीय दलको नेता 'नमाग्ने' बताएका छन्। वाग्लेलाई उद्धृत गर्दै उनका सचिवालय सदस्य खोम अधिकारीले नागरिकसँग भने, 'माग्दिनँ, पार्टीले दिए यो समयमा जिम्मेवारी लिन्नँ भन्न सकिँदैन।'

उसो त रास्वपामा संसदीय दलका पूर्वउपनेता विराजभक्त श्रेष्ठको पनि बलियो दाबी रहेको छ। वाग्ले र श्रेष्ठमध्ये एकजना संसदीय दलका नेता हुने समाचारहरू आइरहँदा वाग्लेले भने आफूले नमाग्ने बताएका हुन्।

तर, केन्द्रीय समितिको विस्तारित बैठकले जिम्मेवारी दिने निर्णय गरे त्यसलाई स्वीकार्ने वाग्लेको तयारी छ। 

महाधिवेशनमा नेतृत्वमा 'हाबी' हुने!

संसदीय दलको नेतामा दाबी नगर्ने मनसाय बनाएका वाग्लेले आउँदो महाधिवेशनमा भने नेतृत्व (सभापति) मा हाबी हुने तयारी गरेका छन्।

डा. स्वर्णिम वाग्ले।

उनी निकट एक नेताका अनुसार त्यसका लागि वाग्ले 'वेट एन्ड सी'को अवस्थामा छन्। ती नेताका अनुसार उनले जिल्ला अदालत, कास्कीको निर्णय कुरिरहेका छन्। 

कास्की निर्णयअनुसार वाग्लेले भावी निर्णय लिने र परिवर्तन गर्ने ती नेता बताउँछन्। 'केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ। त्यसबेलासम्म कास्कीबाट पनि केही निर्णय आउला। त्यसका आधारमा उहाँ अघि बढ्नुहुन्छ,' ती नेता भन्छन्, 'अहिले सभापतिज्यूलाई सहयोग गरेरै जाने र पछिको सन्दर्भमा कास्कीमा हुने निर्णयअनुसार अगाडि बढ्ने भन्ने कुरा छ।'

त्यसो त वाग्ले महत्त्वाकाङ्क्षी नेता हुन्। यसअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो चाहना पार्टीको नेतृत्व गर्ने रहेको बताएका थिए।

यूएनडीपीसहित नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका उनलाई यसअघि पार्टी सरकारमा जाँदा अर्थमन्त्रीको अपेक्षा थियो तर, त्यो मौका पाएनन्।

उनी नेपाली कांग्रेस पृष्ठभूमिका नेता हुन्। जसै रास्वपामा वाग्लेसहित धेरै नेताहरू कांग्रेस पृष्ठभूमिका छन्। रास्वपा सङ्घीयता भद्दा भएको धारणा राख्दछ। 'संवैधानिक समाजवाद' भन्दै आएको रास्वपा नेताहरूबीच वैचारिक तथा सैद्धान्तिक रूपमा मतैक्य नरहेको चर्चा गरिन्छ।

यसअघि के चर्चा पनि थियो भने सभापति रवि लामिछाने कांग्रेस पृष्ठभूमिका नेताहरूसँग सन्तुष्ट छैनन्। खासगरी आफू पक्राउ परेपछि भएका विरोधका कार्यक्रमहरूमा वाग्लेसहित विराजभक्त श्रेष्ठ, शिशिर खनाल, मनीष झालगायतले सक्दो सहयोग नगरेको भनेर रवि लामिछाने असन्तुष्ट रहेको चर्चा थियो।

राजनीतिका जानकारहरू पनि रास्वपा भित्रभित्रै उकुसमुकुस भइरहेको चर्चा गर्छन्। यस्तो पृष्ठभूमिमा वाग्लेको तयारीले के अर्थ राख्छ ? आम रूपमा व्याख्या र विश्लेषण सुरु भएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपा संसदीय दलको नेतामा को ?

 

प्रकाशित: १४ पुस २०८१ १७:३१ आइतबार

@swarnimwagle