राजनीति

भ्रष्टाचार जरैदेखि निर्मूल पार्ने अभिभाराको नेतृत्व कांग्रेस कार्यकर्ताले गर्नुपर्छः नेता कोइराला

फाइल तस्विर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुख्य बाधक रहेको बताएका छन्। 

शनिबार महोत्तरीमा भएको एक कार्यक्रममा बोल्दै उनले अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गर्नुपर्ने धारणा राखे। उनले सुशासनका लागि अब कसैलाई दोष दिएर नहुने र सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। 

उनले भने, ‘भ्रष्टाचारबारे कसैप्रति दोष दिएर आफू उम्कन पाइँदैन। यसलाई जरैदेखि निर्मूल पार्न सबैको सङ्कल्प चाहिन्छ। यो अभिभाराको नेतृत्व प्रजातन्त्रका लागि लामो लडाइँ लडेको कांग्रेसका कार्यकर्ताले गर्नुपर्छ।’ 

एक फरक प्रसङ्गमा नेता कोइरालाले युवा पुस्तालाई शिक्षा र रोजगारीका लागि मुलुकमै रहनसक्ने वातावरण नबनाएसम्म मुलुकले अग्रगति लिन नसक्ने कुरा स्पष्ट पारेका छन्। 

उनले देशमा गुणस्तरीय प्राविधिक शिक्षा र उत्पादनमूलक काममा लगानीको आवश्यकता भएकोमा जोड दिए। यसका लागि कृषि उपयुक्त अवसर भएको उनको भनाइ थियो ।

प्रकाशित: १४ पुस २०८१ ०८:११ आइतबार

#Shekhar Koirala #NagarikNews