राजनीति

ज्येष्ठ नागरिक दिवसमा राष्ट्रपतिको सन्देश: सम्मानित जीवनयापनका लागि सामूहिक प्रयास गरौँ

राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारलाई ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न आग्रह गरेका छन् । ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । 

‘ज्येष्ठ नागरिक अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन्,’ राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘तसर्थ, उहाँहरूको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, सङ्घसंस्था तथा तीनै तहका सरकारहरूबिच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा म आग्रह गर्दछु ।’ साथै नेपाल सरकारले व्यवस्था गरेको स्वास्थ्य सेवा, यातायात सेवाका क्षेत्रमा तोकिएबमोजिम छुट, सहुलियतलगायत विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्न सम्बद्ध पक्षसँग राष्ट्रपति पौडेलले आग्रह गरेका छन् । 

यस्तै सन्देशमा राष्ट्रपति पौडेलले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि शुभकामना व्यक्त गरेका छन् । 

नेपाल सरकारले २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई आधार बनाएर पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ । 

 यस वर्ष ‘सभ्य समाजको आधार: ज्येष्ठ नागरिकमैत्री घरपरिवार’ भन्ने नाराका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । ‘ज्येष्ठ नागरिकहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत आदर, सम्मान र संरक्षण गर्न सके मात्र यो नारा सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । 

प्रकाशित: ११ पुस २०८१ १२:२८ बिहीबार

#Ramchandar Poudel