राजनीति

स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए।

उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए। नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको उनले बताए। उनले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ । त्यसो भएको हुनाले यसलाई न्युनिकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ । हामी सबै मिलेर अघि बढ्यौँ भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनःनिर्माण, पुनःस्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ । हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ । जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ । कानूनी रुपले संरचना निर्माण गरेका छौँ तर अब ति संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ । विपद् जोखिमलाई न्युनिकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ ।’

प्रकाशित: ११ पुस २०८१ १२:१५ बिहीबार