राजनीति

शिक्षा, स्वास्थ्य र खेलकूदको क्षेत्रमा धेरै काम गर्न बाँकी: अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकूद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

चितवनको कालिका नगरपालिकास्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ बार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका  हुन्।

अध्यक्ष दाहालले जुन देशमा गतिलो शिक्षा हुन्न र स्वास्थ्य सुविधाको सही व्यवस्थापन हुँदैन त्यहाँका जनतालाई सभ्य र सबल नागरिक बनाउन गाह्रो हुने तर्क गरे।

“जुन देशमा शिक्षा छैन, जुन देशका नागरिकलाई स्वास्थ्यको ठीक व्यवस्थापन छैन। खेलकूद र मनोरञ्जनका लागि उचित व्यवस्था गर्न सकिदैन,” अध्यक्ष दाहालले भने, “त्यस देशमा सभ्य नागरिक बनाउन गाह्रो हुन्छ।”

संविधानमा जनताका मौलिक हक अधिकारहरु उल्लेख्य भए पनि व्यवहारिक रुपमा जनताले अनुभूति हुने गरि काम गर्न राज्य चुकिरहेको अध्यक्ष दाहालको भनाइ थियो। लामो समयदेखि संसदमा रहेको शिक्षा ऐन बनाउन नसक्दा नेपालको शिक्षा क्षेत्रमा रहेका थुप्रै समस्याहरु समाधान गर्न नसकिएको भन्दै अध्यक्ष दाहालले ऐन कानुन निर्माणको ढिलाइले नै यी समस्याहरु आएको उल्लेख गरे।

शिक्षा ऐनजस्तै अरु थुप्रै ऐन कानुनहरु बनाउन बाँकी रहेको भन्दै अध्यक्ष दाहालले राजनीतिक दल, सांसद तथा सरोकारवाला सबै गम्भीर भएर कानुन निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिए।

बालबालिकालाई विद्यालय जान आफै तयार हुने वातावरण बनाउनु पर्नेतर्फ शिक्षक, अभिभावक र सरोकारवाला सबैले सोच्नुपर्ने अध्यक्ष दाहालले बताए।

खाजा वा अन्य लोभ देखाएर बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने र भर्ना गरेर तथ्याङ्क देखाउने तर उनीहरुको शैक्षिक गुणस्तर र नियमितताबारे चासो नदिने खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले सरकारी विवरण र फाइलमा मात्रै देखिने प्रगति झन खतरनाक भएको बताए।

विश्वका धेरै देशहरुको तुलनामा नेपालको संविधानमा मौलिक हक, समावेशिता लगायतका अधिकार धेरै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन हुन नसक्दा जनताले उपलब्धिको अनुभूति गर्न नपाएको सुनाए।

फरक प्रसंगमा अध्यक्ष दाहालले भने, “चितवन सबैले सुगम भन्छन् तर चितवनका पहाडी भेग कति विकट छन् भन्ने यहाँ घुमेकालाई मात्रै थाहा छ। मैले पश्चिम नेपालका धेरै पहाडी जिल्लाहरु घुमेको छु। त्यहाँभन्दा सुगम भनिएको चितवनका पहाडी क्षेत्रको अवस्था निकै दयनीय छ। यहाँका जस्तो विकट पहाड कतै देखेको छैन।”

सो अवसरमा अध्यक्ष दाहालले पदमपुर आधारभूत विद्यालयको दुई तलासहित ६ कोठे भवनको शिलान्यास गरे। उक्त भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अध्यक्ष दाहालले आफ्नो तर्फबाट एक करोड रकम छुट्याएका थिए।

प्रकाशित: १० पुस २०८१ १९:५० बुधबार