राजनीति

एमाले कारबाहीपछि उषाकिरण: सुशासनको विषय उठाउँदा भएको कारबाहीबाट डराइँदैन

नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेपछि उषाकिरण तिम्सिनाले सुशासनको विषयमा कुरा उठाउँदा भएको कारबाहीबाट नडराउने प्रतिक्रिया दिएकी छन्।

बुधबार निलम्बनको निर्णय प्राप्त भएपछि तिम्सिनाले छोटो प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन्।

‘पार्टीले गरेको निर्णय जहिल्यै मान्दै आइयो, यति महान् निर्णय गर्ने कमरेडहरूलाई धन्यवाद !’, उनले थपिन्, ‘किनभने उहाँहरूले कस्ताकस्ता अभियोग लागेका मान्छेहरूलाई केही गर्नुभएको छैन। हामीले त सुशासनको विषय उठाएको हो। अनि यो कारबाहीबाट डराइँदैन।’ 

सुशासनका पक्षमा आफ्ना आवाज उठाइरहने उनले थप प्रतिक्रिया दिइन्। ‘यस्ता विषय उठाइरहन्छौँ। जनचासोको विषयमा, पार्टीले बाटो बिराएको विषयमा बोलिरहिन्छ,’ उनले भनिन्।

प्रकाशित: १० पुस २०८१ १९:३० बुधबार